राष्ट्रिय सभा निर्वाचनको मौन अवधि सुरु

फिल्को मिसन

माघ १०,२०७८,सोमबार
काठमाडौं । पर्सि हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि गएरातिदेखि मौन अवधि सुरु भएको छ ।
निर्वाचन आयोगले गयराति १२ बजेबाट मौन अवधि सुरु भएको बताएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौन अवधिमा राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारहरूले सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न नमिल्ने बताउनुभयो ।
एक विज्ञप्ति जारी गर्दै आयोगले यस अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने, मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाइएको हुनुपर्ने सम्झाएको छ ।
आयोगले मतदाता पहिचान गर्न पनि निर्वाचन आधिकृतहरूलाई भनेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्ने व्यवस्था छ ।
१९ रिक्त पदमा नौ राजनीतिक दलका ४३ जनाको उम्मेदवारी परेको छ । आगामी २० फागुनमा एमालेका आठ, एकीकृत समाजवादीका चार, माओवादी केन्द्रका चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस