विमलको निर्णायक गोलले नेपालको जित

माघ १५,२०७८शनिबार
काठमाडौं । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा मोरिससलाई १–० ले पराजित गरेको छ । करिव दुई बर्षपछि राष्ट्रिय टिममा फर्किएका विमल घर्ती मगरले गरेको एक मात्र गोलले नेपाल विजयी भएको हो ।
शनिबार दशरथ रंगशालामा भएको खेलमा विमलले ५५ औं मिनेटमा अन्जन विष्टको पासमा गोल गरेका हुन् । २६ महिनापछि राष्ट्रिय टिममा फर्केका विमलले पुनरागमन गरेको पहिलो खेलमै गोल गर्न सफल भए ।
सन् २०१९ नोभेम्बरमा म्यानमार विरुद्ध पछिल्लो पटक राष्ट्रिय टिममा खेलेका विमल प्रतिवन्ध र चोटका कारण दुई वर्ष राष्ट्रिय टिमबाहिर थिए
मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले विमललाई यसपटक टिममा राख्दै पहिलो रोजाईमा अवसर दिएका थिए । उनी शनिबारको खेलको म्यान अफ दि म्याच हुँदै २५ हजार रुपैयाँ पुरस्कार पनि पाएका छन् ।
नेपालका लागि विमलको यो नवौँ गोल हो । यसअघि उनले सन् २०१८ मा ढाकामा बंगलादेश विरुद्ध साफ च्याम्पियनसिपमा पछिल्लो पटक गोल गरेका थिए ।