कोरोना अपेडेढ :४९०४ जनामासङ्क्रमण पुष्टि, ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा देशभर थप ४ हजार ९०४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ पीसीआर परीक्षणमा तीन हजार ३१८ र चार हजार ४६१ एन्टिजेन परीक्षणमा एक हजार ५८६ जना गरी चार हजार ९०४ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका मध्य काठमाडौँमा सबैभन्दा धेरै १ हजार ४०४ जना सङ्क्रमित छन् ।
कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । आज थप ५ हजार ९२४ जना सङ्क्रमणमुक्त भएका छन् । तेस्रो लहर सुरु भएका यता पहिलोपटक सङ्क्रमितको सङ्ख्या भन्दा निको हुनेको सङ्ख्या बढी भएको हो । हालसम्म नेपालमा कूल सङ्क्रमित मध्ये ८ लाख ४८ हजार ३६० जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९ दशमलब ५ प्रतिशत रहेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८७ हजार ३२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार हाल काठमाडौँमा मात्रै सबैभन्दा धेरै ३७ हजार ३४ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
हालसम्म १ करोड ६५ लाख २७ हजार ७४१ जनाले पहिलो मात्रा, १ करोड ४० लाख १५ हजार ३२४ जनाले दोस्रो मात्रा र ३ लाख ३३ हजार ८३५ जनाले अतिरिक्त मात्रा खोप लगाइसकेको मन्त्रालयाले बताएको छ ।