सहिदको बलिदानबाटै राजनीतिक व्यवस्था परिवर्तन आएको : राष्ट्रपति भण्डारी

फिल्को मिसन

माघ १६,२०७८ आइतबार
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिदको त्याग, तपस्या र बलिदानबाट राजनीतिक व्यवस्था परिवर्तन भएको बताउनु भएको छ । प्रत्येक वर्ष माघ १६ गतेका दिन मनाइने सहिद दिवसको अवसरमा आज पनि सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यो दिवस मनाइँदैछ । दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सहिदहरूको बलिदानद्वारा प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताउनुभएको छ ।
दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि सहादत प्राप्त गरेका सहिदको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुने आँट र हौसला प्रदान गर्न सकोस् भन्ने कामनासमेत उहाँले गर्नुभएको छ । त्यसै गरि सहिद दिवसका अनुसार आइतबार सन्देश जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्ति, २०४६ मा प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको जनआन्दोलन र २०६२–६३ मा लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनमा सहिदको त्याग रहेको बताएका हुन् ।
स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए । सहिद दिवसको अवसरमा आज बिहान शान्तिवाटिका रत्नपार्कदेखि सहिद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस