वैशाखमै स्थानीय तहको निर्वाचन गर्न एमालेको माग
माघ १६,२०७८ आइतबार
काठमाडौं । नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले स्थानीय तहको निर्वाचन आगामी वैशाखभित्रै गर्नेगरी मिति घोषणा गर्न सरकारसँग माग गरेको छ। सत्ता गठबन्धनले आगामी जेठमा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको विवरण सार्वजनिक भइरहँदा एमालेले भने वैशाखभित्र निर्वाचन गर्नुपर्ने अडन गरेको हो।
भक्तपुरको जर्मन हस्पिटालिटी होम्समा शनिबार बसेको बैठकले नेपालको संविधानले स्थानीय तह, प्रदेश र संघीय तहमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको व्यवस्था गरेको उल्लेख गर्दै समयमै निर्वाचन हुनुपर्ने ठहर गरेको हो ।
‘संविधानको धारा २१५ र २१६ ले गाउँरनगर पालिकाको अध्यक्ष र प्रमुख, उपाध्यक्ष र उपप्रमुख, वडा अध्यक्ष र सदस्यको प्रत्यक्ष निर्वाचन हुने र निर्वाचित मितिले ५ वर्ष पुगेकै मितिमा पदमुक्त हुने व्यवस्था गरेको छ ।’ संयन्त्रका संयोजक भानुभक्त ढकालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘स्थानीय तहको निर्वाचन तुरुन्त गर, संविधान र लोकतन्त्रको रक्षा गर’ भन्ने मूल नाराका साथ सबै जनसंगठनले आआफ्नो तवरले आन्दोलन अगाडी बढाउने निर्णय बैठकले गरेको छ।