सङ्खुवासभामा बस दुर्घटनामा १५ जनाको मृत्यु

फिल्को मिसन

फागुन २६,२०७८ विहीबार
काठमाडौं । सङखुवासभाको मादी नगरपालिका ६ रामबेनीको सात घुम्तिमा भएको बस दुर्घटनामा मृत्यु हुने व्यक्तिको सङ्ख्या १५ पुगेको छ ।मादीको ओखरबोटेबाट झापाको दमक हिँडेको बा ४ ख ७३५ नम्बरको बस दुर्घटनामा पर्दा घाइते ४ जनालाई हेलिकप्टरबाट विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । दुर्घटनामा ज्यान गुमाउनेहरुमा मादीका सीता विक, अञ्जना कटुवाल, भवानी प्रसाद दाहाल , सोही गाउँका इन्द्र अधिकारी , दीक्षा कटुवाल , बलबहादुर कार्की , सविता कार्की , दीपक दाहाल, श्याम शेर्पा, आइतबहादुर तामाङ उमेश भटराई र युका पोखरेल रहनु भएको प्रहरीले जनाएको छ ।
उमेश बसको सहचालक हुनुहुन्थ्यो । युकाको उपचारको क्रममा धरानमा मृत्यु भएको हो । अन्य ज्यान गुमाउनेहरूमा ताप्लेजुङका समीक्षा योञ्ज, सुदिप घिसिङ र तेह्रथुम फाक्चामारा घर भएका सवारी चालक बिपिन निरौला रहनु भएको प्रहरीको भनाइ छ । सानो गोलाइ र भिरालो बाटो भएकोले चालकले ब्रेक लगाउन नसकेको र दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
तीब्र गतिमा रहेको सवारीसाधन मोड्न नसक्दा पहिलो मोडमा नै दुर्घटना भएको पाइएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव निरीक्षक मनबहादुर खत्रीका अनुसार सवारी चालक निरौलाले यस अघि खाँदबारी–काठ्माण्डौ रुटमा बस चलाउदै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस