१० जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाइदै

फिल्को मिसन

फागुन २८,२०७८
काठमाडौं । सरकारले आजदेखि १० जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउँदै छ । देशभरका १० जिल्लामा हात्तिपाइलेविरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा.चुमनलाल दासका अनुसार आज तोकिएको बुथमा औषधि खुवाइने छ भने अन्य दिन घरघरमै गएर औषधि खुवाउने कार्यक्रम रहेको छ । उहाँले हात्तिपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउने कार्यक्रम तय भएको बताउनुभयो । सरकारले सन् २००३ देखि आम औषधि वितरण कार्यक्रम सुरु गरेसँगै जोखिम कम हुँदै गएको छ ।
झापा, बारा, लमजुङ, पर्वत, बागलुङ, मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलाली जिल्लामा हात्तिपाइलेविरुद्वको औषधि खुवाउन लागिएको हो । झापा, बारा, लमजुङ, पर्वत, बागलुङमा हात्तिपाइले रोगविरुद्ध यसअघि प्रयोग भइरहेका औषधिहरू डाइथाइलकार्बामाजिन र एमजी खुवाइने छ भने मोरङ, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा त्यहि औषधिसँगै आइभरमेक्टिन नामक औषधि पनि खुवाइने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।
हात्तीपाइले हाइड्रोसिल र खुट्टामा देखिने गर्दछ । ती १० जिल्लाका ११४ स्थानीय तहका ६२ लाख ६३ हजार मानिसलाई औषधि खुवाउन थालिएको हो । चार हजार ७०० स्वास्थ्यकर्मी र आठ हजार ८०० महिला स्वास्थ्य स्वयंसेविकाले बुथ र घरघरमा गएर औषधि खुवाउने छन् । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले हात्तीपाइले रोग सामाजिक रोग भएकाले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताउनुभयो

प्रतिक्रिया दिनुहोस