चिनियाँ विदेशमन्त्री वाङको उच्चस्तरीय भेटघाट

फिल्को मिसन

चैत १२,२०७८
काठमाडौं । आजबाट चिनियाँ विदेश मन्त्री एवं स्टेट काउन्सिलर वाङले उच्चस्तरीय भेटघाट कार्याक्रम तय भएको छ ।
विदेशमन्त्री वाङसहितको उच्चस्तरीय भ्रमण टोली शुक्रबार दिउँसो ३ बजे नेपाल आएको हो । वाङ आज बिहान काठमाडौँको शिवपुरीको हाइकिङमा जानु भएको छ । उहाँको भ्रमण र भेटघाटका क्रममा पर्ने रूटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष टोली खटिएको छ । हाइकिङबाट फर्किएपछि विदेशमन्त्री वाङले आफ्ना समकक्षी परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग सिंहदरबारमा भेटघाट गर्नुहुनेछ ।
भेटघाटको क्रममा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीसँगको भेटपछि प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि उहाँ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्ने कार्यक्रम छ ।
विदेशमन्त्री वाङले भ्रमणकै क्रममा काठमाडौँबाटै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुहुने छ । भ्रमणको तेस्रो दिन भोलि बिहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नुहुनेछ । राष्ट्रपति भण्डारीसँगको भेटपछि पूर्वप्रधानमन्त्रीद्वय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको बताइएको छ । भोलिको भेटघाट सकेर वाङ नेतृत्वको टोली भोलि नै स्वदेश फर्किने छ ।

प्रतिक्रिया दिनुहोस