स्थानीय तह निर्वाचन आचार संहिता लागु
चैत २५,२०७८
काठमाडौं । निर्वाचन आयोगले आजदेखि स्थानीय तह निर्वाचन आचार संहिता लागु हुने जनाएको छ ।
आयोगले आज पत्रकार सम्मेलन गर्दै आजबाट निर्वाचन आचारसंहिता २०७८ लागु हुने जानकारी गराएको हो । यसअघि चैत तीन गते आयोगले निर्वाचन आचारसंहिता प्रकाशित गरेको थियो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले सामाजिक सञ्जालको प्रयोग सहि ढंगले गर्न र निर्वाचन प्रचारप्रसार सम्बन्धमा आचार संहिताको पालना गर्न राजनीतिक दल, उम्मेदवार लगायत सबैलाई आग्रह गर्नुभएको छ ।
राजनीतिक दल वा उम्मेदवारले निर्वाचन प्रचार प्रसारका लागि तीन सय वर्ग इन्च सम्मको आकार र ७५ ग्राम सम्मको कागजमा एउटै रङ्गको पर्चा, उम्मेदवारको कार्यालयमा ९ वर्ग फिट सम्मको झन्डा र सोही नामको चुनाव चिन्ह राख्न सक्ने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, निर्वाचनका क्रममा सामाजिक सञ्चालकको दुरुपयोग हुनसक्ने तर्फ आयोगले विशेष ध्यान दिएको र उम्मेदवार वा राजनैतिक दलले आफ्नो आधिकारिक पेजबाट मात्रै आफ्ना विचार तथा धारणहरू सार्वजनिक गर्नुपर्ने व्यवस्था आचारसंहितामा राखिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।
आयोगले झण्डा, टिसर्ट, आमसभा, भेला लगायतका आचार संहिता अनुसारको प्रयोग गर्न भनेको छ । त्यसैगरी मौन अवधिमा मत माग्न, प्रचार गर्न नपाइने, मादक पदार्थको विक्री वितरण र सेवनमा पूर्ण निषेध गर्न भनेको छ । आयोगले उम्मेदवारले राजीनामा दिनुपर्ने भन्ने विषयमा अदालतमा मुद्दा रहेकाले त्यसबारे कुनै निर्णय गर्न नपरेको पनि जनाएको छ । निर्वाचन आयोगले आचारसंहिता विपरित नैतिक बन्धनको रुपमा रहेको कानुनी बन्धन भएको भन्दै राजनीतिक दल र सरोकारवालाले पूर्ण पालना हुने विश्वास गरेको छ । आचारसंहिता उल्लंघन भए प्रक्रिया बमोजिम उम्मेदवारको उम्मेदवारी समेत रद्द गर्न सक्ने तर्फ सचेत गराएको छ । आयोगले निर्वाचन स्वच्छ र स्वच्छ र मर्यादित बनाउन आयोगका साथै सरोकारवालाहरूले पनि साथ र सहयोग गर्न भनेको छ ।