विप्लवको नेकपा फुट्यो, धर्मेन्द्र र सुदर्शन नयाँ पार्टी खोल्दै
२०७९बैशाख १४
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई पदमुक्त गरेको छ ।
महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्य सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोलालाई पार्टीबाट निष्कासन गरेसँगै विभाजन भएको छ।
ओली बास्तोलाले नयाँ पार्टी दर्ताको तयारी गरिरहेको उनीनिकट स्रोतले बतायो। स्रोतले भन्यो, ‘हामीले पहिला पनि पार्टी दर्ताको बिषयमा निर्वाचन आयोगमा पुगेर छलफल गरेका थियौँ। निर्वाचनको माहोल भएका सम्भव भएन। पार्टीमा हामी नै बहुमत छौँ। उनीहरुसँग २३÷२३ जना केन्द्रीय सदस्य मात्रै छन्।’ ओली बास्तोला समूहले आफ्नो समूहमा ४२ जना भन्दा धेरै नेता रहेको दाबी गरेको छ।
निर्वाचनमा सहभागी हुने बिषयले नेकपामा विवाद बढेको थियो। महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड निर्वाचनको पक्षमा उभिँदा ओली बास्तोला भने संसदीय व्यवस्था स्वीकार गरेर निर्वाचनमा सहभागी हुन नसक्ने अडानमा थिए।
सचिवालय सदस्यको नामबाट वक्तव्य जारी गर्दै पार्टीले स्थानीय चुनावमा पठाएका देशभक्त, जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई सहयोग गर्नुको सट्टा चुनावबाट फिर्ता हुनुपर्ने, नभए कारबाही गर्ने जस्ता गैरजिम्मेवार एवं हास्यास्पद वक्तव्य दिएको विप्लवको आरोप छ । कारबाहीमा परेका दुवैले नयाँ पार्टी खोल्ने तयारी जुटेका छन ।
धर्मेन्द्र बास्तोला र सुदर्शनलाई कारवाही
काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई कारवाही गरेका छन् । बास्तोला र सुदर्शनलाई फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले कारवाही गर्दै पदमुक्त गरेका हुन् ।विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकाल सम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवैजनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।