भारतमा गर्मी बढेपछि जनजीवन कष्टकर

एजेन्सी

१५ बैशाखा २०७९ शुक्रबार
एजेन्सी । भारतमा गर्मी बढेपछि जनजीवन कष्टकर भएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार मध्य र पश्चिमोत्तर भारतको तापक्रम यसै साता मात्रै कम्तीमा २ देखि ४ डिग्री सेल्सियससम्म बढेको छ ।
गत वर्षहरूमा मे र जुन महिनामा उष्णलहर सामान्य हुने गरेको भए पनि यो वर्ष छिट्टै गर्मी सुरु भएको हो । यस वर्षको मार्च महिनामा १२२ वर्षयताकै सबैभन्दा गर्मी भएको भारतीय संचार माध्यमले जनाएका छन् । अत्यधिक गर्मीका कारण कम्तीमा १५ वटा राज्य प्रभावित भएको खबरमा उल्लेख छ ।
सामान्यतः गर्मीका कारण खासै असर नपुग्ने हिमाचल प्रदेशसमेत यसपटक प्रभावित भएको छ । भूमध्यसागरमा उत्पन्न आँधीका कारण भारतका मध्य र पश्चिमोत्तर क्षेत्रमा वर्षा यामअघि नै पानी परेका कारण अनपेक्षित तापक्रम बढेको विज्ञहरूको भनाइ छ । गर्मी अत्यधिक बढेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गर्नुभएको छ । भारतमा सन् २०१५ देखि नै संघीय तथा राज्य सरकारले उष्णलहरबाट बच्ने विभिन्न उपाय अपनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस