सिमकोटमा गठबन्धनको संकल्प–पत्र: एकल पुरुषलाई भत्ता देखि विदेशी विकास साझेदार भित्र्याउने
२० बैशाख २०७९
हुम्ला । सिसमकोट गाउँपालिकामा सत्ता गठबन्धनका दलहरुले स्थानीय तह निर्वाचनका लागि संकल्प पत्र सार्वजनिक गरेको छ । संकल्प पत्रमा पाँच वर्षभित्र गठबन्धनका दलहरु अध्यक्ष पदका उम्मेदवार विजय भण्डारी र उपाध्यक्षका उम्मेदवार सुशीला भाम रोकायाको तर्फबाट सार्वजनिक भएको संकल्प पत्रमा एकल पुरुषलाई भत्ता उपलब्ध गराउनेदेखि बहुराष्ट्रिय कम्पनी, विदेशी साझेदार भित्र्याउने नीति समेटिएको छ।
स्थानीय सरकार भन्ने नाराका साथ पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधान, गाउँपालिाको सौन्दर्य प्रवद्र्धन, कृषि आधुनिकीकरण, साहित्य र संस्कृतिको संरक्षण तथा फोहोर व्यवस्थापनको मुद्दासहितको संकल्पपत्र सार्वजनिक गरिएको छ ।
त्यसैगरि हालका गाउँपालिकाहरुले सार्वजनिक सुनुवाइ गर्न नसकिरहेको बेला आर्थिक पारदर्शिताका लागि सार्वजनिक सुनुवाइलाई अनिवार्य गर्ने र सामाजिक लेखापरीक्षणलाई अनिवार्य गर्ने दलहरुको बताएका छन्।
गाउँपालिका र सबै वडाबाट प्रवाह हुने सेवालाई पेपरलेस, फेशलेस र क्यासलेश बनाउन पहल गर्ने र हेलो गाउँपालिका कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ। त्यसैगरि गाउँगाउँमा सिंहदरबार भन्ने उद्देश्यले वडा कार्यालयमा वडामै सञ्चालन हुनु पर्नेमा त्यो नभएको बेला अनिवार्य रुपमा वडाका सेवा वडाबाटै प्रवाह गर्नुपर्ने नीति लिइने उल्लेख गरिएको छ। सिमकोटलाई नगरपालिका बनाउनका लागि आवश्यक पहल गर्ने, वडाको संख्या बढाउने दलहरुको संकल्प छ।
यस्तै स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई गाउँपालिकाले सहकार्य र समन्वय गर्ने, अन्तर–स्थानीय तहकाबीच सम्बन्ध तथा विकासका लागि साझेदारीको नीति लिने, अनिवार्य कर असुल गर्ने, गाउँपालिकाका योजना निर्माण तथा कार्यन्वयनका लागि विज्ञ समूह गठन गर्ने र विकासमा देखिने दोहोरोपनालाई निरुत्साही गर्ने नीति लिइने संकल्प पत्रमा उल्लेख गरिएको छ।
गाउँपालिकाको आफ्नै भवन र बाँकी वडाको भवन व्यवस्था गरिने, गाउँपालिकाद्वारा निर्माण गरिएका सबै सडकको स्तरोन्नती गरिने, सिमकोटको रिङरोड निर्माण कार्यलाई प्राथमिकतामा राख्ने, सिमकोटका लागि सौर्य प्लाण्ट स्थापना गर्ने, टुक्रे योजना वितरणलाई निरुत्साहित गर्ने, उपयुक्त डम्पिङसाइटको खोजी र निर्माण गर्ने, सिमकोट र सबै वडाका बस्तीमा व्यवस्थित बसोबासको नीति तथा कार्यक्रम तय गर्ने उम्मेदवारहरुको संकल्प छ।
त्यसैगरि विषयगत र विद्यार्थी संख्याको अनुपातमा शिक्षकको व्यवस्था गर्ने, आवश्यकताका आधारमा विद्यालयलाई मर्ज गर्ने काम तत्काल गर्ने, विद्यालयलाई प्रविधिमैत्री बनाइने, हालको आवासीय विद्यालयलाई अझै व्यवस्थित र थप आवासीय विद्यालयको व्यवस्था गर्ने र ती विद्यालयमा स्रोतसाधनको कमि हुन नदिनेलगायतका विषय संकल्प पत्रमा समेटिएको छ।
संकल्पपत्रमा दलीय आधारमा सिमकोटगाउँपालिकाबाट दिइने सेवामा भेदभाव नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग तथा प्राकृतिक स्रोत साधनको दोहन नगर्ने, कानुनको सीमाभन्दा बाहिर गएर आर्थिक प्रलोभनमा परेर कुनै निर्णय नगर्ने संकल्प समेत गठबन्धनले लिएको छ ।
नातेदार तथा परिवारका सदस्यलाई सल्लाहकार, विज्ञ तथा कर्मचारी र सहयोगीमा समेत नियुत्त नगर्ने संकल्प लिएको छ । महिलामाथि हुने हिंसा, जातीय भेदभाव लैँगिक विभेद र सामाजिक विकृति र विसंगतिलाई प्रोत्साहन हुने कुरामा कुनै हिसावले संलग्न नहुने पनि प्रतिबद्धता गठबन्धनले गरेको छ ।