सिमकोटको कार्यपालिकामा गठबन्धनका उम्मेदार निर्वाचित
जेठ १५, २०७९
हुम्ला । सिमकोट गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएको छ । सिमकगाउँपालिकाका मुख्य निर्वाचन अधिकृत जगत पौडेलका अनुसार ४ महिला र २ दलित तथा अल्पसंख्यक सदस्य गरी ६ सदस्यको निर्वाचन सम्पन्न भएको बताए । उनका अनुसार ४ महिला सदस्यमा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका गुुहेला रावत ३० मत, माओवादी केन्द्रकी काङ्सो लामा ३०, कांग्रेसकी कल्पना लामा २९ र माओवादी केन्द्रकी डाँफु बोहरा २९ मत ल्याएर निर्वाचित भएकी छन्।
जसमा दलित तथा अल्पसंख्यक सदस्य पदमा तर्फबाट कांग्रेसका गोपाल विक २६ मत ल्याएर विजयी भएका छन्,भने अर्का सदस्य माओवादी केन्द्रका टसी विकले २५ मत ल्याएर निर्वाचित भएका छ्न्। उनीहरूमध्ये गोपालको ३ मत र टसीको ४ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
नवनिर्वाचित कार्यपालिका सदस्यलाई आइतबारै प्रमाणपत्र वितरण गरिएको छ । वैशाख ३० गते सम्पन्न निर्वाचनमा सिमकोट गाउँपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजय भण्डारी (प्रतिरोध) र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शुशिला बाम (रोकाया) विजयी भएका थिए ।
सिमकोट गाउँपालिकामा अधिकांश वडामा गठबन्धन बाट काँगे्रस र माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । गठबन्धन दल कांग्रेस र नेकपा माओवादी केन्द्र गरी सिमकोट गाउँपालिकामा २९ मत भए पनि दुुई जना सदस्यलाई भने ३० मत परेको थियो।
स्थानीय तह निर्वाचनबाट सिमकोट गाउँपालिकामा गाउँ सभाका लागि कांग्रेसका उपाध्यक्षसहित १५ र माओवादी केन्द्रका अध्यक्षसहित १४ जना निर्वाचित भएका हुन्। सिमकोट गाउँपालिकामा वडाध्यक्ष र सदस्य गरी एमालेले १३ पदमा निर्वाचित भएका थिए । उक्त पदका लागि नेकपा एमालेले दुुई जनाको उम्मेदवारी दिए पनि पराजित भएका छन्। अन्तिम मतपरिणाम आएको ३ दिनभित्र कार्यपालिकाको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्ने र १५ दिनभित्र निर्वाचन सम्पन्न गरिसक्ने गाउँ तथा नगर कार्यपालिका सदस्य निर्वाचन निर्देशिका २०७८ मा व्यवस्था रहेको छ ।