हुम्लाबाट दुई जना प्रतिभा छानिए लोकनृत्य र गीतमा
जेठ १८,२०७९
सिमकोट । लोक सङ्गीतको संरक्षण र कलाकारको पहिचान गर्न आयोजना गरिएको प्रतिभा पहिचान कार्यक्रमबाट दुई कलाकार छनोट भएका छन्।
सामाजिक विकास कार्यालयमा प्रतिभा पहिचान कार्यक्रमअन्तर्गत माध्यमिक विद्यालयस्तरमा सञ्चालन गरिएको प्रतियोगितामा लोकगीततर्फ मानसरोवर माविकी छात्रा सफलता बोहरा र लोकनृत्यतर्फ हिमज्योति माविकी छात्रा नन्दादेवी थापा छानिएका हुन्।
यसैगरी, लोकगीततर्फ हिमज्योति मावि सर्केगार्डकी आशा शाही द्वितीय, मालिका मावि खार्पुनाथकी छात्र राजु विक तृतीय र रामदेव माविका आभास सुनार सान्त्वना भएका छन्।
यस्तै, लोकनृत्यतर्फ हिमज्योति माविकी छात्रा नन्दादेवी थापा प्रथम, मानसरोवर माविकी छात्रा सोनाम साङ्मुलामा द्वितीय र सोही विद्यालयकी रूपमा भण्डारी तृतीय भएका छन्।
लोकगीत र नृत्यतर्फ छनोट भएका सफलता बोहरा र नन्दादेवी थापाले प्रदेशस्तरमा सञ्चालन हुने कार्यक्रममा प्रतियोगीका रूपमा सहभागिता जनाउने छन्।
हुम्लामा लोकनृत्य र गीत प्रतियोगिता पहिलो पटक भएको हो। कार्यालय प्रमुख हर्क बस्नेतले जिल्ला स्तरमा लोकगीत र नृत्यको प्रतिभा पहिचान गर्ने कार्य पूरा भएको र दुवै विधामा छनोट भएका प्रतिभाले जेठ २० गते सुर्खेतमा हुने प्रतियोगितामा सहभागिता जनाउने बताए।
दुुवै विधामा सातवटै गाउँपालिकाबाट एक–एक जना प्रतिभा छनोट गर्न गाउँपालिकालाई पत्राचार गरिएको भए पनि सिमकोट, खार्पुनाथ र सर्केगार्ड गाउँपालिकाका प्रतियोगीहरूको मात्र सहभागिता रहेको थियो। चारवटा गाउँपालिकाबाट भने सहभागी रहेन।
जिल्लास्तरमा भएको प्रतियोगताका लागि विजेतालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। अब प्रदेशस्तरको कार्यक्रमका लागि छनोट भएका सहभागीका लागि आर्थिक व्ययभार भने प्रदेश मन्त्रालयले गर्नेछ।