विपद्जन्य घटनामा वैशाखयता ६० जनाको मृत्यु

फिल्को मिसन

जेठ ३०,२०७९
काठमाडौं । गत वैशाखयताका दुई महिनामा भएको ६ सय ४५ विपद्जन्य घटनाका कारण ६० जनाको मृत्यु भएको छ ।
उक्त अवधिमा यहि समयमा ५२ जनाको मृत्यु भएको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस वर्ष सबैभन्दा बढि चट्याङका कारण २६ जनाको मृत्यु भएको छ । भने गत वैशाख १ देखि जेठ २८ गतेसम्म आगलागीबाट मृत्यु हुनेको सङ्ख्या १४, जनावर आतङ्कबाट ८, हावाहुरीबाट ७, पहिरोबाट ३ र सर्पदंशबाट २ जनाको मृत्यु भएको छ ।
ती घटनामा १ सय ४८ जना घाइते भएका छन् भने एक जना वेपत्ता रहेको प्राधिकरणका प्रवक्ता डाक्टर डिजन भट्टराईले सीआईएनसँग बताउनुभयो । ती सबै घटनामा ८ सय ३० परिवार प्रभावित भएका छन् भने करिव ४९ करोड रूपैयाँको क्षति भएको छ । भने २ सय २८ वटा भौतिक संरचनामा क्षती पुगेको छ ।
प्राधिकरणका अनुसार विपद्का कारण मृत्यु हुनेमा हरेक वर्ष चट्याङ् अग्रस्थानमा रहने गरेको छ । चट्याङ्का कारण हुने मृत्युका घटनालाई न्युनीकरण गर्न सचेत रहनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । सीआईएनसँग कुराकानी गर्दै चट्याङ् विज्ञ श्रीराम शर्माले वर्षाको मौसममा विशेषगरि साँझको समयमा बढि चट्याङ पर्ने भएकाले साँझमा घर बाहिरको काम नगर्न सुझाव दिनुभयो ।
गत वर्षको बैशाख र जेठ महिनामा चट्याङका १ सय ४८ घटनामा ३० जनाको मृत्यु भएको थियो भने यस पटक ५९ घटनामा २६ जनाकोे मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस