नाम्खामा पहिलो पटक आँखा शिविर : ६३ जनाको आँखाको शल्यक्रिया (फोटो फिचर)

अर्जुन बोहरा

जेठ ३०,२०७९
सिमकोट । हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकामा पहिलो पटक आँखा शिविर सञ्चालन गरिएको छ। नाम्खा गाउँपालिकाको याल्वाङमा सञ्चालन गरिएको आँखा शिविरमा ६३ जनाको मोतिबिन्दुको सफल रूपमा शल्यक्रिया गरिएको छ। शिविरका लागि गाउँपालिकाको स्वास्थ्य शाखाले ७५ जना छनौट गरेको भएपनि ती मध्य ६३ जनाको शल्यक्रिया गरिएको हो।
याल्वाङमा स्वाथ्य केन्द्रमा सञ्चालित शिविरमा शुक्रबार र शनिबार गरी ७५ जना छनौट गरेको भयपनि ६४ जनाको आँखाको शल्यक्रिया गरिएको हो। ६३ जनाको मोतियाबिन्दुको अत्याधुनिक तरिकाबाट शल्यक्रिया गरिएको छ। दुई दिन सञ्चालन भएको शिविरमा कुल २६० जना आँखाका बिरामीले चेकजाँच गरेका थिए।
गाउँपालिकाका सूचना अधिकारी मोहनबहादुर शाहीले गउाँपालिका केन्द्र भएपनि दुर्गमको गाउँ याल्वाङमा पहिलो पटक सञ्चालन भएको आँखा शिविरबाट वर्षौँदेखि आँखाको रोगबाट ग्रसित बिरामीको उपचार सफल भएको बताउनु भयो ।
शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौंका नेत्र रोग विशेषज्ञ डा गोविन्द पौडेकोे नेतृत्वमा आएको टोली र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए। उनले शिविर सञ्चालन अवधिभर ६३ जना महिला पुरुषको मोतिबिन्दुको शल्यक्रिया भएको बताए।
उनीहरू मध्य आवश्यकताका आधारमा चश्मा पनि वितरण गरिएको थियो। यसका लागि तिलगङ्गा आँखा अस्पतालले आर्थिक तथा प्राविधिक सहयोग गरेको थियो ।
गाउँपालिकाले वडा नम्बर १ देखि ५ सम्मका शिविरका लागि छनौट भएका आँखाका बिरामीका लागि निःशुल्क यातायात र खान बस्नको लागि व्यवस्था गरिएको गाउँपालिका स्वास्थ्य संयोजक ग्याछो लामाले जानकारी गराए ।
स्वास्थ्य संयोजक लामाका अनुसार शल्यक्रियाका लागि लिमीका तिल,जाँग, हल्जी मुचु ,यारी,हिल्साबाट बिरामी आएका थिए।

 

प्रतिक्रिया दिनुहोस