असार ७ गते जिससको निर्वाचन हुने हुम्लामा

अर्जुन बोहरा

असार ३,२०७९
सिमकोट । हुम्ला जिल्ला समन्वय समितिको निर्वाचन आगामी असार ७ गते हुने भएको छ ।
मुख्य निर्वाचन कार्यालय हुम्लाले आज जिल्ला समन्वय समितिको निर्वाचन कार्यातालिका सार्वजनिक गरेको हो । जसअनुसार यही असार २ गतेदेखि निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । मुख्य निर्वाचन कार्यालयका अनुसार असार २ गते मतदाता नामावली प्रकाशन,मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दरखास्त दिने र संशोधित मतदाता नामावली प्रकाशन गर्ने समय तोकिएको छ ।
कार्यतालिकाअनुसार ४ गते मनोनयन दर्ता गर्ने, यस्तै, असार ४ गते मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने समय निर्धारण गरिएको छ । उम्मेदवारको मनोनयन दर्ता गर्ने, मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सुची प्रकाशन गर्ने तथा उम्मेदवारको विरोधमा उजुरी दिनका लागि समय तोकिएको छ ।
त्यसैगरि ५ गते मनोनयन फिर्ता लिने समय तोकिएको छ भने उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरेर असार ७ गते मतदान गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसले जिल्ला समन्वय समितिको निर्वाचनका लागि गठबन्धन दलहरु मिलेर जाने जनाएको छ।
अहिले नै प्रमुख लगायतका पदहरु गठबन्धन दलहरुबीच बाँडफाँट भने भएको छैन। समन्वय समितिका लागि जिल्लाका ७ वटा गाउँपालिकाका ७ जना अध्यक्ष र ७ जना उपाध्यक्षले मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस