सिमकोट गाँउपालिकाको नेतृत्व र आगमि कार्यभार

फिल्को मिसन

 

 

दलजित कार्की

“संसारलाई बुझ्नु र ब्याख्या गर्नु मुख्यकुरा नभइ मुख्यकुरा भनेको त संसारलाइ बदल्नु हो” यो भनाई मानव इतिहासको एतिहासिक ब्याख्याता कार्ल माक्सको हो । मानव समाज निरपेक्ष नभई सापेक्षतामा अगाडी बढेको हुन्छ भन्ने कुरामा सायँदै बिमति नहोला र मानब जिवनको तथा सामाजिक जिवनको सारभुत लक्ष्य र गन्तव्य भनेकै ससारलाई बुझ्नु र ब्याख्या गर्नु भन्दा पनि यसलाई सापेक्षताका आधारमा परिवर्तन गरि मानव जिवनलाई सरल र सहज तुल्याउनु नै हो ।

आज मुलुकमा जति राजनैतिक परिवर्तन सँगसँगै यसले ल्याएका अवसर हरुको उपयोग र उपभोगलाई आम जनस्तर सम्म पुर्याउनको लागि मुलुको संरचनालाई तिन तहको संघात्मक ढाँचामा रुपान्तरण गरिएको छ र हामि यसलाई कार्यन्व्यन गर्ने युगिन घडीमा छौ ।

भौगोलिक विकटता, पुर्वाधारको न्युनविकास, राज्यको केन्द्रीकृत मानसिकता र कमजोर सामाजिक चेतना आदि इत्यादी कारणहरु हुम्ला जिल्ला विकासको वाधक हुन भन्ने कुरामा विवाद छैन । यसका बाबजुत पनि तुलनात्मक हिसावले समग्र हुम्लाको विकास आसा लाग्दो गतिमा अगाडी बढीरहेको कुरालाई समेत हामिले भुल्न भने हुदैन । मैले यहाँ समग्र हुम्लाको सन्दर्भ नभइ जिल्लाको केन्द्र बिन्दुमा रहेको सिमकोट गाँउपालिकाको नेतृत्वको आगमी यात्रा र गन्तब्य कता र कसरी तय हुनुपर्छ भन्ने विषयमा आफ्ना धारणाहरु प्रस्तुत गर्ने कोशिस गर्नेछु ।

जनताको सन्निकटताको सिद्दान्तमा आधारिता स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले यसले विकास,सेवा प्रवाह र सुशासनलाई जनताले प्रत्यक्ष अनुभूत गर्नेगरि आफ्ना नीति तथा रणनीति अख्तियार गर्नु पर्ने हुन्छ । भर्खर सम्पन्न स्थानीय निर्वाचन मार्फत सिमकोट गाँउपालिकामा विजय भण्डारीको नेतृत्वमा जोस जागर बोकेका र बिभिन्न क्षेत्रमा नेतृत्वदाइ भुमिकामा अनुभव संगालेका युवाहरुको टिम निर्वाचित भए पस्चात आम सिमकोट गाँउपालिका निवासिमा आषाको दियो जागेको छ भने यो दियोलाई जगाई राख्नु निर्वाचित जनप्रतिनिधिहरुको प्रमुख अवसर र चुनौति हो ।

हुम्ला जिल्लाका अन्य छ वटा स्थानीय सरकार भन्दा तुलनात्मक रुपमा जिल्ला सदरमुकाम भएकोहुनाले यसको विकास आम चासोको विषय बन्नु अस्वभाविक हैन। आन्तरिक साधन र स्रोतमा सिमकोट गाँउपालिकामा धेरै सम्भावनाहरु रहेकाछन् जस्तैः घर जग्गा वहाल कर,मालपोत कर,व्यवसाय कर,विज्ञापन कर,घर जग्गा रजिस्ट्रेसन शुल्क, सवारीसाधन कर आदि बैज्ञानिक ढङ्गवाट परिचालन गर्न सके आन्तरिक स्रोत बलियो हुन्छ र सेवा प्रवाह र बिकास क्रियाकलापहरु प्रभावकारी रुपमा अगाडी बढाउन सकिन्छ अन्यथा केन्द्र सरकार र प्रदेस सरकारको मुख ताख्नु सिवाहेक अर्को विकल्प छैन । यसका लागि यो निर्वाचित टिम अलोकप्रीय भइने डरले हैन कि निर्मम रुपमा माथिका कर संकलनमा प्रतिबद्ध रहनु पर्ने हुन्छ ।

त्यस्तै सिमकोट गाँउपालिकामा कार्यरत जनशक्तिलाई परम्परागत कागजी घोडा,प्रक्रियामुखि कार्यशैली र भद्दा संगठानिक संरचनाबाट रुपान्तरण गरी चुस्त सगठन,प्रविधिमैत्री,परिणाम मुखि कार्यशैलीमा हिडाउन उपयुक्त पात्रलाई उपयुक्त स्थानमा राख्दै सकरात्मक सोच भएका र क्षमतावान जनशक्तिलाई पुरस्कृत र खराव आचरण भएकालाई दण्डीत गर्न सकिएना भने परीणाम हासिल हुन सक्दैन भन्ने कुरामा कुनै सन्देह छैन किनकि जनप्रतिनिधिका नीति तथा कार्यक्रम कार्यन्व्यनको अग्रपङ्तिमा कर्मचारि तन्त्र खडाहुन्छ र यसले जनता सँग गरेको कार्यसस्कृतिले नै जनताको धारणा निर्माण गर्दछ ।

गाँउपालिकाले तय गर्ने वार्षिक नीति तथा कार्यक्रम बजेट निर्माण, कार्यन्व्यन र अनुगमनका हरेक चरणहरुमा सरोकारवाला निकायहरु,राजनीतिक दल,शक्क्षक बुद्धिजीवि, नागरिक समाज, गैर सरकारी सघ सस्था,वाल कलव,युवा कलव, महिला समुह,आमा समुह, कृषक समुह, ब्यवसायिक वर्ग, दलित वर्ग र अपाङ्गता भएका नागरिकहरुको अर्थपुर्ण सहभागिता गराई ब्यापक छलफल र सम्वादको माध्यमबाट जनताका खास खास आवस्यकतालाइ सम्बोधन गर्ने गरि योजनाहरुको प्राथमिकिकरण गर्ने र छनौट गरी बजेट तयार पश्चात सबैको पहुँचमा पुग्नेगरी बजेट किताब प्रकाशन र प्रसारण गरि प्रादशिता र सुचनाको हकलाई प्रवदद्धन गरि सुशासन हाशिल गर्न सहयोग पुग्दछ ।

अर्को कुरा जनप्रतिनिधिको वरिपरि घुमेर रोटी सेक्ने समाजको एउटा वर्ग सदैव रहन्छ र त्यस्ता वर्गको चङ्गुलमा नफसि योजना वाँडफाँड,अनुदान वितरणमा भुईतहका जनतालाइ केन्द्रविन्दुमा राख्नसके समाजमा साचो अर्थमा सामाजिक न्याय र आर्थिक समानता हासिल हुन्छ ।

वितरण मुखि आयोजना भन्दा पुँजी निर्माणमा सहयोग पुग्ने आयोजनाहरुको छनौट गरि ब्याप्त गरिवी निवारण र रोजगारी सृजना मार्फत सामाजिक आर्थिक रुपान्तरणको गन्तब्यमा पुग्ने दिसामा सिमकोट गाँउपालिका अग्रसर हुनेछ भन्ने आम सरोकारको विषय बनेको छ ।

गुणस्तरीय शिक्षा,स्वास्थ्य,आधारभुत खानेपानी तथा सरसफाई, सडक सञ्जाल,विध्धुतिकरण र प्रविधिकरण आजको विकासको पहिलो प्राथमिकता बनेको छ यसलाई ब्यबस्थापन गरि जनताको जीवन स्तरमा देखिने गरि परिवर्तन ल्याउनु नेतृत्वको आगमि कार्यभार हनेछ ।

अन्तमा सिमकोट गाँउपालिकाको भविस्य सुन्दर रहेको छ यसका लागि पालिकाको नेतृत्वले अलमल नगरिकन आम सरोकारवालाको सहयोग र साथ हासिल गर्दै जनशक्ति ब्यबस्थापन प्रभावकारि बनाउदै विकास,सेवा प्रवाह र सुशासनको कसिमा आफ्नो पाँच बर्षे कार्यकाल स्वीम बनाउने छ भन्ने विस्वास सर्वत्र छाएको छ ।

लेखक हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका २ का दलजित कार्की हुनुहुन्छ ।
असार ६ गते २०७९

प्रतिक्रिया दिनुहोस