आज साउने संक्रान्ति, लुतो फालेर पनि मनाइँदै
साउन १,२०७९
सिमकोट । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ ।
असार महिनाभर धान रोपाइरँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने संक्रान्ति पर्व मनाउने गर्दछन् ।
हिलोमाटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने संक्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार गाउँमा अनिकालको अन्त्य होस भनेर भन्ने चलन छ।
साउने संक्रान्तिको दिन साँझपख गाउँघरमा मिठो–मसिनो खानपिन खाइसकेपछि छरछिमेकी वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासी बन्दुकहरू पड्काउँ छन । थाल, झयाम्टा, नाङ्लो र ढोलहरू धुमाहरु ब्जाउन छन । प्रत्येक घरका हिँडडुल गर्नसक्ने बच्चादेखि युवा–युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घरवरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घरभित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् ।
अनिकाल बाइजाउ, सुपिकाल आऊ’ भन्ने आदि भावमा ’अनिकाल वा दुःख–पीडा’लाई त्यसरी पर्वको रूपमा मनाउँदै खेदाएर रमाएका हुन्छन् ।
कागभलायो, कुकरडाइनो, लुतेझार, आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ । यसो गर्दा छालासम्बन्धी कुनै पनि रोग नलाग्ने विश्वास छ ।
साउन महिना भगवान् शिवको पूजा गरेर पनि मनाइन्छ । महिलाहरुले हरियो चुरा, रातो, पहेँलो वस्त्र, मेहन्दी लगाउँछन् र साउनको प्रत्येक सोमबार व्रत बसेर शिवको पूजा गर्दछन् ।