चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना

फिल्को मिसन

भदौ १६, २०७९
काठमाडौं । आज केहि एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुनी न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तर तर्फ रहेकाले आज मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
महाशाखाका अनुसार यसकै प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली हुनेछ भने प्रदेश १, मधेश प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै आज राति प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुँदा प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस