पालिका प्रमुख/अध्यक्षको काम, कर्तव्य र अधिकार

फिल्को मिसन

भदौ १८, २०७८
सिमकोट । स्थानीय शासन सञ्चालन ऐन २०७४ मा कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धि व्यवस्था, कार्यपालिकाले स्वीकृत गरेको नियमावली बमोजिम हुने ऐनमा उल्लेख गरेको छ । कार्य विभाजन नियमावलीमा अध्यक्ष तथा प्रमुख, उपध्यक्ष तथा उप्रमुख, वडाध्यक्ष तथा सदस्यहरुको काम, कर्तव्य तथा अधिकार तोकेको छ । त्यस्तै पालिका प्रमुख/अध्यक्षका काम, कर्तव्य र अधिकार पनि ताेकेकाे छ ।

के के हुन त पालिका प्रमुख/अध्यक्षका काम, कर्तव्य र अधिकारहरू:
१) सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने
२) सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूचि तथा प्रस्ताव पेश गर्ने, गराउने
३) बार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने
४) सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने
५) सभा र कार्यपालिकाको निर्णय कार्यन्वयन गर्ने\गराउने
६) कार्यपालिकाको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने
७) उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाइ काजमा खटाउने
८) वडा समितिबाट सम्पादन हुने सिफारीस तथा प्रमाणित हुने विषय बाहेक प्रचलित नेपाल कानून बमोजिम स्थानीय तहबाट गर्नुपर्ने प्रमाणित वा सिफारिस गर्ने
९) पालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र आम्दानी, खर्च, हिसाब र अन्य कागजपत्र सुरक्षित राख्ने, राख्न लगाउने
१०) पालिका समिति, उपसमिति तथा वडा समितिको कामको रेखदेख गर्ने
११) सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने गराउने
१२) सात दिनभन्दा बढि समय पालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार दिने र उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाइ कार्यभार दिने
१३) सभा वा कार्यपालिकाले तोकेका अन्य काम गर्ने

प्रतिक्रिया दिनुहोस