लिङदेनले सांसद पदबाट राजीनामा दिए

फिल्को मिसन

भदौ १९, २०७८
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको आइतबार बैठकमा मन्तव्य राख्ने क्रममा मंसिर ४ गते प्रतिनिधिसभा सदस्यको चुनाव घोषणा भइसकेकोले आफू पदमा बसिराख्नु उपयुक्त नहुने बताउँदै उनले पदबाट राजीनामा दिएका हुन् ।
संसद्मा राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘संसदको यो कार्यकालको यो अन्तिम उपस्थिति र अन्तिम कुरा राख्न म यहाँ उपस्थित भएको छु। चुनाव घोषणा भइसकेपछि यही तरिकाले संसद चलिरहनु र जीवित भइरहनु उपयुक्त हुँदै । प्रजातन्त्रमा विश्वास राख्ने दलहरुले निष्पक्ष निर्वाचनमा विश्वास गर्छन्। तर संसद राखिराखेर निष्पक्ष निर्वाचन हुन सक्दैन। अब म चाहिँ संसदमा आउँदिन। पार्टीको अध्यक्ष पनि छु। मैले पहिले पनि भत्ता पकाउनका लागि संसद आउँदिन भनेको हो।’
अध्यक्ष लिङदेनले संसदको आयु मंसिर ४ गतेपछि पनि राख्न सकिन्छ भन्नेमा आपत्ति जनाएका छन् । उनले भने,सरकारको यो निर्णयले मलाई लज्जित बनाएको छ। बाटोबाटै मैले संसद छाडेँ भन्नु उचित हुँदैन । म यहीँबाट भन्छु आजबाट सांसदका रुपमा यहाँ उपस्थित हुने छैन। सभामुख महोदय र सचिवालयलाई आग्रह गर्दछु मेरो नाममा तलब भत्ता सुविधा रोक्का गरियोस्। मैले अब निवेदन दिनुपर्ने भए म निवेदन दिएर बाहिरिन्छु।’
आगामी निर्वाचनपछि एक्लो सांसदको रुपमा मात्र नभई बलियो पार्टीको रुपमा संसदमा उपस्थित हुने र संसदबाट गलत निर्णय गर्न नदिने संकल्पका साथ जनतामा जाने बताए।

प्रतिक्रिया दिनुहोस