अभिनेता पल शाह आज रिहा

फिल्को मिसन

फागुन १५,२०७९ सोमबार
काठमाडौँ । अभिनेता पल शाह सोमबार उच्च अदालत पोखराबाट रिहा भएका छन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।
रिहा भएपछि उनी काठमाडौँ आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्। तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्।

उच्च अदालत पोखराले सफाइ दिएपछि अभिनेता शाहलाई कारागारमुक्त गरिएको तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीले जानकारी दिए । रिहा गर्नु अगाडि शाहको दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । शाह रिहा हुने खबर पाएलगत्तै कारागार अगाडि बिहानैदेखि शुभेच्छुकको भीड रहेको थियो ।नाबालिक जबर्जस्ती करणीको अभियोगमा कारागारमा थुनामा रहेका नायक शाहलाई तनहुँ अदालतले भने सफाइ दिइसकेको थियो । नाबालिकमाथि जबर्जस्ती करणी गरेको भन्दै शाहविरुद्ध तनहुँ र नवलपुर प्रहरीमा उजुरी परेको थियो । शाहलाई गत वर्ष चैत १० गते तनहुँ अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस