यू–२० महिला एएफसी छनोट : नेपालले ६–० ले जित्यो प्यालेस्टाइनलाई
फागुन २४,२०७९
एजेन्सी । एएफसी यू–२० महिला एशियन कप छनोटमा नेपालले विजयी शुरुवात गरेको छ। बुधबार साँझ भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ६–० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो।
प्यालेस्टाइनको फैजल हल हुसैनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि ६–० ले पराजित गरेको हो।
नेपालका लागि दीपा शाहीले ह्याट्रिक गोल गरिन्। गरिमा राईले २ गोल गरिन् भने खेलको ८५औं मिनेटमा प्यालेस्टाइनले आत्मघाती गोल गरेपछि नेपालले ६–० ले खेल जितेको हो।
समूहको विजेता टोली दोस्रो चरणमा छनोट हुनेछ। पहिलो चरणको छनोटबाट हरेक समूहका विजेता ८ टोली दोस्रो चरणमा प्रवेश गर्ने छन्। दोस्रो चरणबाट ४ टिम फाइनल चरणमा छनोट हुने छन्।
दोस्रो चरणका खेल आगामी जेठ २० गतेदेखि जेठ २७ गते (जुन ३ देखि ११) सम्म हुने छन् जसबाट उत्कृष्ट ४ टोलीले उज्वेकिस्तानमा हुने यू–२० महिला एशियन कपमा खेल्नेछन्।
केही समयअघि २० वर्ष मुनिको साफ च्याम्पियनसिपमा उपविजेता बनेको नेपाल एशियन छनोटको पहिलो चरण पार गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्यमा छ।