जति धेरै मुद्दा हाल्छौ त्यति मलाई चुनावमा फाइदा ट्रम्प

एजेन्सी

साउन२०,२०८०

वासिङटन । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लगाइएका मुद्दाले सन् २०२४ को राष्ट्रपति चुनावमा आफूलाई फाइदा पुर्‍याउने बताएका छन्।

आपराधिक मुद्दामा तेस्रोपटक अदालतमा उपस्थित भएपछि शुक्रबार राति अभियोजकहरूलाई यस्तो बताएका हुन्।​

ट्रम्पले अलाबामामा रिपब्लिकन पार्टीको रात्रिभोजमा भने, ‘जति उनीहरूले मुद्दा दायर गर्छन्, हामीले चुनाव जित्छौँ। यो चुनाव अन्त्य गर्न हामीलाई अर्को अभियोग चाहिन्छ। अर्को एक अभियोगसँगै यो चुनाव समाप्त हुनेछ। कसैलाई पनि मौका मिल्दैन।’

बिहीबारको सुनुवाइका क्रममा ट्रम्पले आफ्नो २०२० चुनावमा हारको परिणाम उल्टाउन खोजेको भन्ने आरोप स्वीकार गरेनन्। यो वर्ष ट्रम्पविरुद्धको यो तेस्रो मुद्दा हो। यो विषय सबैभन्दा गम्भीर मानिएको छ। संघीय सरकारले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा बाधा पुर्‍याउने योजना बनाएको भन्दै ट्रम्पमाथि आरोप लगाएको छ। सामाजिक सञ्जालमा जारी गरिएको पोस्टमा ट्रम्पले आफूलाई निशाना बनाउनेहरूविरुद्ध बदला लिने चेतावनी दिएका छन्।

न्याय मन्त्रालयले ट्रम्पविरुद्ध दायर फौजदारी मुद्दाको सुनुवाइ गरिरहेका संघीय न्यायाधीशलाई यो विषयमा उपयुक्त कदम चाल्न अनुरोध गरेको छ। अभियोजकहरूले शुक्रबार अमेरिकी जिल्ला अदालतका न्यायाधीश तान्या चुटकनलाई यस मुद्दामा सुरक्षात्मक आदेश जारी गर्न आग्रह गरेका थिए।

सुरक्षा आदेश जारी भएपछि ट्रम्प र उनको कानूनी टोलीले मुद्दाको बारेमा सार्वजनिक जानकारी दिन पाउनेछैनन्।

आपराधिक मुद्दाहरूमा यस्ता सुरक्षात्मक आदेश सामान्य भएको अभियोजकहरूले दाबी गरे। ‘यो मामलामा ट्रम्पले साक्षी, न्यायाधीश, वकिल र आफूविरुद्ध अदालतमा विचाराधीन मुद्दाहरूमा संलग्न व्यक्तबारे सोशल मिडियामा सार्वजनिक रूपमा खुलासा गरेका छन्। त्यसैले यस्तो आदेश दिन आवश्यक छ’‚ अभियोजकहरूले भने।

अभियोजकहरूले विशेष गरी ट्रम्पको सामाजिक सञ्जाल प्लाटफर्म ट्रुथमा शुक्रबार जारी गरिएको पोस्टलाई औंल्याए, जसमा पूर्व राष्ट्रपतिले बोल्ड अक्षरहरूमा लेखेका थिए, ‘यदि तपाईं मेरो पछि लाग्नुभयो भने म पनि तपाईंहरूको पछि लाग्नेछु।’

प्रतिक्रिया दिनुहोस