मुगुमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, पाँचको घाईते
साउन २९,२०८०
मुगु । मुगुको सोरु गाँउपालिकाको केन्द्र सोरुकोटबाट जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
सोमबार दिउँसो २ बजे सोरुकोटबाट छुटेको ग १ ज ७७६२ नम्बरको जीप सोही गाँउपालिका–६ सिपपहिरो भन्ने स्थानमा पुग्दा दिउँसो ४ बजे सडकबाट चिप्लिँदा अनियन्त्रित भई दुर्घटना भएको थियो ।
जीप सडकबाट अन्दाजी तीन सय मिटर तल मुगु कर्णाली छेउ पुगेको र जीपमा सवार नौजना मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक मोहन बस्नेतले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पाँच जनाको अवस्था चिन्ताजनक रहेको र दुईको अवस्था सामान्य रहेको छ ।
घाइतेहरूको उपचार र मृतकको पोष्टमार्टम गर्न उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित एम्बुलेन्स घटनास्थलतर्फ गए पनि छायाँनाथ रारा नगरपालिका–३ फुली र आँसीधारा गाउँको बीचमा तीन ठाउँमा पहिरो गएकाले टोली अगाडि बढ्न सकेको छैन ।
घटनास्थलबाट घाइते र मृतकहरूलाई आँसीधारा गाउँसम्म जीपमा ल्याइँदै गरेको र फुलीबाट स्ट्रेचरसहित हिँडेको प्रहरीले स्ट्रेचरमा बोकेर फुलीबाट एम्बुलेन्समा राखी जिल्ला अस्पताल मुगुमा ल्याइने पनि बस्नेतले बताए । जीपमा सवार अधिकांश हुम्ला जिल्लाका भएको बुझिए पनि उनीहरूको सनाखत हुन सकेको छैन ।बस्नेतले पहिचानभन्दा पनि उद्धारलाई प्रहरीले प्राथमिकता दिएको र जिल्ला अस्पतालमा पुगेपछि सबैको पहिचान गर्ने जानकारी दिए ।
घटनास्थल जिल्ला सदरमुकाम गमगढीबाट तीन घण्टा सडक दूरी रहेको र सडकको अवस्था राम्रो नभएकाले घाइतेहरूलाई राति १०र११ बजेसम्ममा जिल्ला अस्पताल मुगुमा पुर्याउन सकिने प्रहरीले बताएको छ ।