चाडपर्व लक्षित सुपथ मूल्य पसल संचालन आजदेखि

फिल्को मिसन

असोज २१,२०८०
सिमकोट । सरकारले आगामी दशैं–तिहार र छठ पर्वलाई लक्षित गरेर आजदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ । निम्नवर्गलाई लक्षित गरेर सरकारले यसपटक विभिन्न उपभोग्य वस्तुमा छुट अफरसहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले सहुलियत पसल सञ्चालन गर्न लागेका हुन्।
मंसिर ३ गतेसम्म सहुलियत पसल सञ्चालन हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो।
यसपटक सुपथ मूल्य पसलमा चामल, फापर, चिनी, पनिर, घ्यू, गेडागुडीदेखि खसीबोकासम्ममा सहुलियत दिइने आपूर्ति मन्त्रालयले जनाएको छ ।
ती कम्पनीका काठमाडौँ उपत्यकामा रहेका बिक्री केन्द्र र तीन घुम्ती पसल गरी ३५ स्थानबाट सुपथ मूल्यमा खाद्यान्न बिक्री वितरण हुनेछ।
राजधानीबाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रूपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा सुपथ पसल सञ्चालन हुनेछ।
यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगरमा सहुलियतपूर्ण पसल रहनेछन्। खाद्य व्यापार कम्पनीले ४२ जिल्लाका ४८ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको प्रवक्ता शर्मिला न्यौपानेले जानकारी दिनुभयो । कम्पनीले सञ्चालनमा ल्याएका बिक्री कक्षबाट उपभोक्ताले सबै किसिमका चामल, दाल, गहुँ, आटा, पीठो, र सबै प्रकारका तेलमा प्रतिकिलो÷प्रतिलिटर सात रुपैयाँ तथा कर्णालीको सिमी, फापर, चिनो, कागुनो र खसीबोकामा प्रतिकिलो १० छुट पाउनेछन्।
सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ। यस्तै साल्ट्र ट्रेडिङले पनि काठमाडौं उपत्यकाको सतुङ्गल, कालीमाटी, पाटन, जडीबुटी, कौशलटार, भक्तपुर र सिफलसहित देशभरका कार्यालयमा सहुलियत पसल सञ्चालन गर्नेछ। साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड छुट्याएको छ। साल्ट ट्रेडिङले चिनी प्रतिकिलो ९७ मा बिक्री गर्नेछ।
साल्ट ट्रेडिङले नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ। दुग्ध विकास संस्थानले घीउमा प्रतिकिलो २०, पनिर प्रति २०० ग्राममा २० रुपैयाँ छुट दिनेछ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस