अमेरिकी सपना त्याग्ने निधो गरें!
पुस्तक अंश:
माघ ७,२०८०
काठमाडौं एयरपोर्ट, सन् २००६ को एक दिन। सयौं आकांक्षीहरू एकातिर झोला, अर्कोतिर परिवारजन सम्हाल्दै थिए।
‘यहाँ नाम मिल्या छैन, भित्र सोध्नुपर्छ एकपल्ट,’ अध्यागमन कर्मचारीहरूले केही सिधा र केही टेबल मुनिको मोलतोल गरे।
त्यहाँबाट पार हुँदै हल्का पाकेट तर ठूलो सपना बोकेर केही बेरमै हाम्रो जहाज उच्च आकाशमा पुग्यो। यति उँचो कि देश, समाज, त्यो भूगोल जहाँ सत्ता प्राप्तिका लागि युद्ध नै चलिरहेको थियो, केहीबेरमै बादलमुनि हराएर गयो।
तर जब बादल खुल्यो, विदेशी भूमि आकाशबाट हेर्दा झसंग पनि भएँ। नेपालपछि भारत, मध्य पूर्व, युरोप फरक फरक देशहरू सिमानाले नै फरक रंगका, पर्खालले छेकेको, छुट्टिएको हुनु पर्ने सोचमा थिएँ। तर नेपालपछि पनि जमिन एक तमासले निरन्तर रहेछ। सोचेँ, देश, विदेशको विभाजन मानिसकै मनको बनावटसम्म रहेछ। जमिन एक तमासले अविभाजित रहेछ।
तर एक ठाउँ छोडेर अर्को ठाउँ नपुगुन्जेलको आकाशमा त्यो क्षणिक आनन्दमा पत्तै नपाई कतार एयरपोर्ट पुगिएछ। त्यहाँ नजिकका साथीहरू आफ्ना झोला, विस्तरा बोक्दै भीडमा हराउँदै गए। हाम्रो यात्रा अझै बाँकी थियो। भित्र छिरेर कोरिया हुँदै पुगियो सानफ्रान्सिस्को, क्यालिफोर्निया।
सानफ्रान्सिस्को पुगेर साथीहरूसँग भेटेर चिल्लो बाटो, आलिसान महलहरू हुँदै जीवनमा पहिलो पटक महासागर किनार पुगेँ, मोन्टेरे बन्दरगाह। विशाल प्रशान्त महासागर हामीले देख्न सकेसम्म अगाडि फैलिएको थियो। छेउमा सैनपेड्रो उपत्यकाको रमणीय घाँसे मैदान, किनारमा पेलिकनहरू चरिरहेका थिए।
लगभग २५ लाख वर्ष पहिले, बरफ युगको उचाइको समय आर्कटिक घेरादेखि मेक्सिकोको खाडीसम्म विशाल बरफको तहले भूगोललाई मात्र हैन पानीको ठूलो मात्रालाई जमाएछ, जसले गर्दा समुद्रको सतह घटेर गएछ। त्यसरी घटेको समुद्र सतहले खुल्न गएको जमिनको मार्गबाट जीवजन्तुका प्रजातिहरूसँगै मानवहरू बसाइ सर्न थाले भनिन्छ। यीमध्ये पहिलो समूह पालेओ इन्डियन भनेर चिनिन्छन् जो तीस, चालीस हजार वर्षअघि पसेका थिए भनिन्छ। अनि त्यसपछि नाडेन, इनुइट्स, वा एस्किमोहरू आइपुगेका रहेछन्।
यसरी प्रकृतिसँगै घुलमिलमा यस ठाउँमा आदिवासी समाज व्यवस्थित हुँदै गर्दा प्रकृति र मानवीय क्षमताको संयोजनले प्रशान्त महासागर अर्को छेउतिर संसार अर्कै तवरले परिवर्तित, विस्तारित हुँदै रहेछ।
यी समाज नयाँ प्रविधि र टाढा, रहस्यमय संसारहरूको खोजीले पनि बेचैन रहेछन्। तिनका लागि रहस्यमय संसारहरूमध्ये एक रहेछ एसिया र अर्को अफ्रिका। पन्ध्रौं शताब्दीको अन्त्यतिर बेलायत, स्पेन र फ्रान्स युरोप र एसिया बीचको छोटो, सस्तो र सुरक्षित समुद्री मार्ग पत्ता लगाउन पोर्चुगलसँग प्रतिस्पर्धा गरिरहेका रहेछन्। ती देशका यात्रीहरूले चीनबाट चुम्बकीय कम्पास प्राप्त गरेछन्, अनि अरबबाट एस्ट्रोलेव, साथै विकसित अन्य यन्त्र र डिजाइन सुधारहरूले जहाजको दिशा, गति र स्थिरतामा कप्तानको नियन्त्रणमा सुधार भएछ।
ती नयाँ प्रविधि र ज्ञानको फाइदा उठाउँदै, सन् १४९२ मा राजा फर्डिनान्ड र इसाबेलाको सहयोगमा एसियातर्फ छोटो, सुरक्षित मार्ग पत्ता लगाउने सर्तमा कोलम्बस र केही नाविकहरू प्रशान्त महासागरको अज्ञात लम्बाइतिर लागेछन्। तीन महिनाभन्दा बढी समयपछि, तिनीहरूले भूमि टेकेछन्।
कोलम्बसले सोचेछन् कि उनी एसिया, भारत पुगे। तर, वास्तवमा, उनी बहामा भनिने (अमेरिकाको एक टापु) ठाउँमा पुगेका रहेछन्, जो आफैंमा एक नयाँ, आकर्षक ठाउँ थियो।
कोलम्बस क्यारिबियन टापुहरूमा आइपुग्दा सुरूमा त्यस क्षेत्रमा बसोबास गर्ने टाइनो मानिसहरूलाई भेटेछन्। टाइनोहरूले कोलम्बस र उनको टोलीलाई जिज्ञासा र आतिथ्यताका साथ स्वागत गरेका रहेछन्। तर नयाँ पाहुनाहरूको मनसाय भने सुरूदेखि नै अलग रहेछ।
स्पेनी राजाहरूलाई पठाएको पत्रहरूमा कोलम्बसले लेखेका छन्ः
‘… तिनीहरू हामीप्रति धेरै मिलनसार थिए र बल प्रयोग गरेर भन्दा नम्र माध्यमद्वारा उनीहरूलाई हाम्रो धार्मिक विश्वासमा सजिलै परिवर्तन गर्न सकिन्छ भन्ने मैले देखेपछि उनीहरूलाई केही रातो टोपीहरू र घाँटीमा लगाउनका लागि माला दिएँ अनि धेरै साना मूल्यका अन्य साना कुराहरू, जसमा तिनीहरू धेरै खुसी थिए, र हामीसँग नजिकिन पुगे। त्यसपछि तिनीहरू जहाजको डुंगामा पौडी खेल्दै आए, सुती, कपासको गोला, भाला र अन्य धेरै चिजहरू ल्याए ….
मलाई लाग्दछ कि, यिनीहरू चलाख पनि छन् र असल नोकर हुनेछन् …’
तर अप्रत्यासित तवरले, आगन्तुकहरूले आफ्नो जमिन, जीवन माथिको अधिकार खोस्दै गएको बुझेपछि आदिवासी नेताहरूले विरोध थालेका रहेछन्। १७ औं शताब्दीमा यसले एक युद्ध नै निम्त्याएको रहेछ। तर हतियारले सुसज्जित आगन्तुकहरूका अघि तिनको केही चलेनछ। अन्तमा, सन् १८३० मा राष्ट्रपति एन्ड्रयू ज्याक्सनले आदिवासीहरूलाई उनीहरूको भूमिबाट जबरजस्ती हटाउने नीति लिएपछि आफ्नो पुर्ख्यौली जमिन छोडेर जोखिम, रोग र अभावको बीच अनकन्टार ठाउँतिर तिनले हिँडेको त्यो बाटो आँसुको पदमार्ग भनेर चिनिन पुगेको रहेछ।
बेलायतबाट स्वतन्त्रता पाएपछि संयुक्त राज्य अमेरिकाले भने कृषि, उद्योग, व्यापारको रफ्तार विकाससँगै आफ्नै माउ साम्राज्यलाई सामरिक, आर्थिक रूपमा उछिन्नेसम्म बन्न पुगेको रहेछ।
तर अर्को छेउ विश्वमा बजार र नयाँ भू–भागको लागि प्रतिस्पर्धाले अभूतपूर्व हतियार निर्माण हुँदै, तिनको बेमेलका बीच सन् १९०० सम्म पूरै युरोप युद्धमा फस्न पुगेछ।
सन् १९१७ मा संयुक्त राज्य अमेरिकाले विश्वलाई ‘लोकतन्त्रको लागि सुरक्षित’ बनाउनका लागि भनेर युद्धमा सामेल हुन पुगेछ। यद्यपि, संसारलाई ‘लोकतन्त्रका लागि सुरक्षित’ बनाउन थालिएको युद्धले इटालीको लागि अस्ट्रियाको क्षेत्र र जापानलाई चीनको भू–भाग कब्जा गर्ने मौकाको रूपमा परिणत भयो। रोमानियाले सन् १९१९ मा हंगेरीमा आक्रमण गर्यो, १९२० मा पोल्याण्डले रूसमा आक्रमण गर्यो। रूसी गृहयुद्ध १९२० को अन्त्यसम्म जारी रह्यो र ग्रीस र टर्कीले १९२३ सम्म युद्ध गरे। अझ यसले युरोपमा आर्थिक र राजनीतिक अस्थिरता उत्पन्न गर्न मद्दत गर्यो, जसले अधिनायकवादी हिटलर जस्ता नेताहरूका लागि अनुकूल वातावरण बनायो।
संयुक्त राज्य अमेरिकाले दोस्रो विश्वयुद्धको समय लगभग ४१८,५०० सैन्य कर्मचारीहरू गुमाएका रहेछन्। सोभियत संघको मात्र अनुमानित १ करोड सैनिकहरू हताहत भएका रहेछन्।
एक हिसाबले सबैमा युद्ध, र विध्वंशको पश्चातापले हुनुपर्छ, सबै राष्ट्रहरूबीच शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघ (यु.एन.) को १९४५ मा स्थापना भएको रहेछ। संयोग भनौं वा नियति यसको पहिलो बैठक सान फ्रान्सिस्को, क्यालिफोर्नियामा, जुन १९४५ मा भएको रहेछ। हामी उभिएको, डुल्दै गरेको सहरमा। त्यही महिनामा।
जैविक विविधताले सम्पन्न यो ठाउँमा अठारौं शताब्दीतिर सुनखानी पत्ता लागेको रहेछ। क्यालिफोर्निया स्वर्ण दौडको रूपमा प्रख्यात त्यस समय संसारभरिबाट आप्रवासीहरूको ओइरो पनि लागेको रहेछ। त्यसबाट प्राप्त स्रोत, उर्वर, सुन्दर भूमि, आप्रवासी श्रम अनि बन्दरगाहको सदुपयोगबाट यो ठाउँ विश्वकै समृद्ध, वैभवशाली बन्न पनि पुगेको रहेछ।
दोस्रो विश्वयुद्ध पछिको अर्को भीषण पुनर्निर्माण अनि आर्थिक, सामाजिक सेवाको विकासले एक सर्वसाधारणले मेहनत गरे भने परिवारको लालनपालन, घर, गाडी, शिक्षा यानेकी सुखी जीवनको अमेरिकी सपना यथार्थमा प्राप्त गर्न सक्छ भन्ने मान्यता बनेछ।
‘अमेरिकी सपना’ भनेर चिनिने त्यही मान्यता विश्वव्यापी हुँदै म पनि जानी–नजानी त्यही सिलसिला आइपुगेको थिएँ।
संसारको सबैभन्दा विकसित, धनीमध्ये एक सानफ्रान्सिस्को सहर।
त्यहाँ एक नेपाली समूहसँग भेटपछि डुल्दै मूल सहर, चम्किलो, गगनचुम्बी भवनहरू हुँदै एउटा साँघुरो गल्लीको एउटा पुरानो भवनमा पुग्यौं।
भित्र साँघुरो डेरा नेपाली मसलाको वासनाले भरिएको रहेछ। एकदिन नेपालको अवस्था सुधार होला र फर्कौंला भन्ने आशामा वर्षौंअघि परदेशिएका रहेछन्। भेटमा नेपालको, गाउँठाउँको बारेमा भलाकुसारी भयो र स्वादिष्ट दालभात पनि खायौं।
‘धेरै वर्ष भयो मैले मेरो परिवारलाई पनि नभेटेको।’ हाम्रा मेजवान दाजुले दुःखको लामो सास तानेर भनेँ।
तर, गहिरो द्वन्द्व र आर्थिक संकटमा परेको नेपाल जुनसुकै बेला सामान्य अवस्थामा फर्किने आशा पनि थिएन, उनीहरूमा।
हामीमा पनि नेपालको याद ताजै थियो। बजारतिर आफ्नो घरमा खाना खाँदाखाँदै आर्मीको हुल आएर तर्साउने, अनि गाउँतिर माओवादीहरूको भर्ती अभियान। अनि बेरोजगारी, बेथिति।
त्यो दिन फेरि काममा जाँदै ती दाजुले हामीलाई बजारतर्फ बाटो देखाउँदै गए।
चौबाटोमा एक बोर्डमा त्यो सहरको भगिनी सहरहरूको दूरी लेखिएको थियो। बेंगलोर ८७०७ माइल, संघाई ४१४५ माइल, ओसाका ५७३७ माइल, पेरिस ५५७० माइल। त्यहाँ नलेखिएको काठमाडौं लगभग १२१८० किलोमिटर जति टाढा रहेछ।
त्यहाँबाट अघि सहरमा बाँच्ने थप सुझावहरू, सडकसम्बन्धी निर्देशनहरू दिँदै, खुट्टा खोच्याउँदै मूल सडकमा हामीलाई बिदाइ गरे ‘ल भाइबहिनीहरू राम्रोसँग जानु है!’
‘हुन्छ दाइ! तपाईं आफू पनि राम्ररी बस्नु होस्।’
व्यस्त सडकको भीडमा उनी हराएर गए।
अनि मूल सहरको रमझम हुँदै, सान फ्रान्सिस्को बन्दरगाह र त्यसको पियर ३९ मा आइपुग्यौं।
अघि नीलो समुन्द्र अनन्तसम्म फैलिएको थियो। टाढाको क्षितिजमा समुन्द्रमाथि लमतन्न फैलिएको विशाल गोल्डेन गेट पुल थियो। नजिक चहकिलो गगनचुम्बी भवनहरू थिए। अनि तीभित्र संसारभरिकै विशिष्ट खानपिन, कपडा अनि बासको व्यवस्था। अनि सक्नेलाई काम, नसक्नेलाई सामाजिक सुरक्षाको कुरा।
मोहित हुँदै हामीले आफ्नो हात समायौं र त्यही आफ्नो अमेरिकी सपना देख्न थाल्यौं।
अनि काम पनि थालें एकदिन। दिनचर्या बित्दै जाँदा बन्दरगाहको त्यो दृश्य, काम गर्ने ठाउँका पर्खालहरूले छेकिँदै गए। सपना, कल्पना भित्रका यथार्थहरू खुल्दै गए।
मेरा सहकर्मीहरु कोही मेक्सिकोबाट आएका थिए, गरिबी, अपराधिक गिरोहको हिंसाबाट भाग्दै, खतरनाक मरूभूमिको बाटोहरू पार गर्दै। कोही भारतीयहरू थिए, गरिबीबाट उम्कने प्रयासमा, अमेरिकी शिक्षाको आशामा। कोही मध्यपूर्वबाट त्यहाँ चलिरहेको युद्धबाट उम्केर आएका थिए। सबैको आउने ठाउँ फरक–फरक थियो, तर शान्ति र अमनचैनको खोजी सबैको एकै थियो। त्यहाँ पुगेर दुःखसुख सबैका एकै थिए।
भौतिक सुविधा, पूर्वाधार, गाँसबासको उच्च गुणस्तर अनुसार खर्च धान्न मानिसहरू यहाँका हप्ताको छ सात दिन काम गर्दा रहेछन्। पर्याप्त सुत्ने समय पनि नहुने रहेछ। अर्कोतिर त्यही सहरमै विश्वमै कहलिएका धनाढ्यहरूलाई पनि निरन्तर, निर्दयी प्रतिस्पर्धाको होडले फुर्सद नहुँदो रहेछ। अनि औद्योगिक कच्चा पदार्थ, तेल, शक्तिको होडबाजी, लुछाचुडीमा मध्य पूर्वदेखि, अफ्रिका, एसिया द्वन्द्व, युद्धले ग्रस्त हुँदै फेरि फस्दै पनि रहेछ।
केही समयपछि सजिलो र राम्रो कमाइको सोचले नजिकैको कलेजमा जसोतसो भर्ना पनि मिल्यो अनि छात्रवृत्ति पनि। भर्खरका कलिला विद्यार्थी साथीहरू छेउ कलेजको ढोकामा उभिएर सोचें, ‘यदि यहाँकै डिग्री लिएँ भने पनि त्यसबाट गाँस, बास र कपडाको उच्च सुविधासम्म हुन्छ। त्यसभन्दा पर जीवन, जगतको, जन्म, मृत्युको अर्थ जान्ने मेरो आकांक्षा त अझै रहिरहन्छ।’
त्यतिन्जेलसम्म साथीहरूभन्दा उमेर, भूगोल र जीवनका घटनाक्रमका हिसाबले धेरै लामो बाटो पार गरिसकेको थिएँ। तिनलाई थाती राखेर फेरि फेदीबाट यात्रा सुरू गर्न मनले मानेन।
‘के चिज हो यो, जसले धनीदेखि गरिब सबैलाई दिनरात चिन्तित बनाइराख्छ?’
‘त्यस्तो एक ज्ञान हुनसक्ला, जसले सबैमा दिगो सुख र शान्ति छाओस्? जसको प्राप्तिमा हामी खुसीले जिउन अनि मर्न पनि सकौं?’
म आतुर हुँदै गएँ।
अनि वर्षौं अघिको नेपालको एउटा सपना फेरि निरन्तर देख्न थालेँ।
अनकन्टार पहाडहरू बीचमा धुपीको रूख, ठूला–ठूला ढुंगाहरू, त्यसबीच मनमोहक सुन्दर ठाउँ जहाँ भोक, रोग, द्वन्द्व, मृत्युजस्ता कुराहरूको कुनै गुन्जायस थिएन। सेतो बादलहरूबीच अनायस पारदर्शी चट्टानभित्र आफूलाई देख्थेँ। यसले आनन्द ल्याउँथ्यो। तर चाँडै त्यो चट्टानभित्र आफूलाई कस्सिएको, निसास्सिएको महसुस हुन्थ्यो। त्यसैबेला पसिना पसिना भई डराएर जाग्न पुग्थेँ।
एकदिन मैले मायालाई भनें, ‘म नेपाल जान चाहन्छु, कहिले फर्किन्छु थाहा छैन।’
मैले उनलाई सान्त्वना दिएँ, ‘यदि मैले नफर्कने निर्णय गरें भने तिमी पनि छिट्टै फर्किनू। नेपालमै केही गर्छु।’
मेरो कुरा सुनेर उनी ओछ्यानमा थचक्क बसिन् र टाउको समाएर लामो श्वास लिइन्।
‘ठीक छ, तिमीलाई जे मन लाग्छ गर। म तिमीलाई रोक्न सक्दिनँ।’
केही दिनपछि सान फ्रान्सिस्को सहर घुम्दै फेरि पियर ३९ आइपुग्यौं। यसपटक हामीमध्ये एक जनाको नेपालको एकतर्फी टिकट थियो। एकतिर सान फ्रान्सिस्को सहर, अर्कोतिर प्रशान्त महासागरको सुन्दर बन्दरगाह। पियर बन्दरगाह ३९ को त्यही पुरानो ठाउँमा मैले आफ्नो ‘अमेरिकी सपना’ त्याग्ने निधो गरें।
जीवन जगतका उल्झन, प्रश्नहरूको उत्तरको खोजीमा।
डेरा फर्किएर आउँदा एक कुनामा निःशब्द बसिन्, माया। जब मैले उनको हातबाट आफ्नो हात हटाएँ, उनको आँखाबाट आँसुको धारा बग्यो।
‘यसअघि कहिल्यै यसरी रोएको थिइनँ’ उनले भनिन्।
‘हाम्रो फेरि भेट नहुने संकेत त हैन?’
बुक्स हिमालय, ललितपुरबाट प्रकासन हुन गइरहेको लेखकको पुस्तक ‘अमरभूमि: दिगो सुख, अमरत्वको खोजीमा एक हिमालीको यात्रा वृत्तान्त’ मा आधारित लेख।
कर्णाली प्रदेश हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडानं ३ बरगाउँ गाउँ निवासी हुन् । पुस्तकका लागि बुक्स हिमालय वा लेखकको इमेल jyungmet@gmail.com मा सम्पर्क गर्न हुन अनुरोध छ ।