सिमकोट गाउँपालिकाले पनि बनायो आफ्नै पाठ्यक्रम “हाम्रो सिमकोट’’
फागनु १९,२०८०
हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरेको छ। सिमकोट गाउँपालिकाको युवा शिक्षा तथा खेलकुद विकास शाखाले शनिबार आयोजना गरेको पाठ्यक्रम लोकार्पण कार्यक्रममा औपचारिक रुपमा सार्वजनिक गरीएको छ । गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मको लागि “ हाम्रो सिमकोट “ नामको स्थानीय पाठ्यक्रम निर्माण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को सभापतित्वमा शनिबार आयोजीत उक्त कार्यक्रममा उपाध्यक्ष शुशिला (बाम) रोकाया, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल,निमित प्रमुख प्रशासकिय अधिकृत उजिर रोकाया, विभिन्न पार्टीका दलको नेताहरु, स्थानीय पाठ्यक्रम निर्माण समितिका पदधिकारी, सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको उपस्थितिमा पाठ्यक्रम लोकार्पण गरिएको हो ।
उक्त कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारीले स्थानीय पाठ्यक्रम आफैमा महत्वपुर्ण पाठ्यक्रम भएको बताउनु भयो। स्थानीय पाठ्यक्रमले स्थानीय क्षेत्रमा रहेका बिभिन्न क्षेत्र, समुदाय, भाषा कला र संस्कृतिको संरक्षण गर्नमा ठूलो महत्व राख्ने उल्लेख गर्दै नेपालको संविधानले स्थानीय पाठ्यक्रमको परिकल्पना गर्दै त्यसको निर्माण गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएकामा सिमकोटले त्यसको अभ्यास गरीने वताउनुभयो । त्यस्तै यस पाठयक्रम बाट मौलिक कलाको बारेमा जान्ने, विद्यार्थीको व्यवहार, सिप, नैतिकता, अनुशासन र आचरणमा परिवर्तन ल्याउनमा थप सहयोग पुग्ने बताउनु भयो ।
स्थानीय पाठ्यक्रमको लोकार्पण कार्याक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सिमकोट गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेर जिल्लामै महत्वपूर्ण र उल्लेखनीय कार्य गरेको बताए ।
आधारभूत तह कक्षा १ देखि ८ सम्मको “ हाम्रो सिमकोट “ नामक स्थानीय पाठ्यक्रम सिमकोट गाउँपालिका अन्तर्गतका सबै वडानका विद्यालयमा यसै शैक्षिक सत्रदेखि लागू हुने छ । पाठ्यक्रममा गाउँपालिकाको परिचय, भौगोलिक अवस्था, साँध सिमाना, स्थानीय जातजाति, भेषभूषा, भाषा, धर्म, पालिका भित्र रहेका सम्पदाहरु समेटिएका छ ।
यस्तै स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको छ । पाठ्यक्रममा वनजंगल, कृषि, ऐतिहासिक तथा सांस्कृतिक र भौगोलिक पहिचान, पर्यटन लगायतका क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको छ ।
विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको यस पाठ्यक्रमले सिमकोट गाउँपालिकाका साथै हुम्लाको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत समेटिएको छ ।
कक्षा अनुसार १ देखि ३ सम्म पाठ्यक्रमले समेटेका विषयमा गाउँ र वडाको सामान्य परिचय, स्थानीय प्राकृतिक श्रोत तथा सम्पदा र पर्यटकीय स्थलको पहिचान, भासिक, साँस्कृतिक, भौगोलिक, धार्मिक, शैक्षिक सचेतना बिकास, स्थानीय परम्परागत खेल, पेशा, ब्यवसाय र प्रविधिसंग परिचित, घर भित्र र बाहिर हुने बिपदको पहिचान र कृषिका बिषयमा समेटको छ ।
त्यसैगरी कक्षा ४देखि ५ सम्मको पाठ्यक्रममा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र अवस्था पहिचान, स्थानीय धार्मिक ऐतिहाँसिक, साँस्कृतिक तथा पर्यटकीय स्थलको परिचय महत्वबोध, स्थानीय स्तरको सामाजिक आर्थिक, भाषिक तथा शैक्षिक अवस्थाको पहिचान, स्थानीय परम्परागत खेल, पेशा व्यवसाय, प्रबिधि प्रति सम्मान तथा सीपको अभ्यास, स्थानीय कृषिसँग परिचित र अभ्यास, प्राकृतिक विपद र मानव सृजित विपदका प्रभाव तथा असरहरुबारे राखिएको छ ।
त्यसैगरी कक्षा ६ देखि ८को स्थानीय पाठ्यक्रममा समेटिएका विषयमा सिमकोटको संक्षिप्त परिचय, नक्शांकन र इतिहाँसको जानकारी, सिमकोटको सामाजिक, आर्थिक शैक्षिक अबस्थाको पहिचान, सिमकोट भित्रको भाषा, लोक साहित्स, भेषभूषा चाडपर्व, रीतिरिवाज, सस्कार र संस्कृतिको खोजी पहिचान र संरक्षण बारेमा समेटिएको छ ।
त्यसै गरि स्थानीय धार्मिक तथा पर्यटकीय स्थलहरुको खोज, पहिचान र संरक्षणमा तत्परता, स्थानीय कृषिसँग परिचित र अभ्यास, स्थानीय परम्परागत पेशा, सीप, व्यवसाय र प्रविधिको परिचय, महत्व, संभावना र सीपको अभ्यास, स्थानीय स्तरका प्राकृतिक श्रोत तथा जैविक बिबिधताको पहिचानको खोजीको बिषय राखिएको छ ।
स्थानीय प्रकोप र जोखिम व्यवस्थापनको अवधारण बोध र ब्यवस्थापनमा सहयोग, बन पैदावार, खोलानाला, दह, कुण्ड, नदी, हिमालहरुको पहिचान र महत्व बारेमा उक्त पाठ्यक्रममा राखेको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ ले समेत सबै स्थानीय तहले आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) स्थानीय विषयबस्तुलाई समेटेर पाठ्यक्रम बनाउन निर्देश गरेको र सोही अधिकार र निर्देशन अनुसार स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ ।