मानसिक स्वास्थ्य अन्तर्राष्ट्रिय सम्मेलनको जुम्ला घोषणापत्र जारी

फिल्को मिसन

वैशाख २४, २०८१
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले ‘जुम्ला घोषणापत्र’ जारी गरेको छ ।
प्रतिष्ठान जुम्ला र म्यासाचुसेट्स जनरल हस्पिटल अमेरिका, स्थानीय तथा ग्लोबल इनिसियटिभ्स फर मेन्टल हेल्थ इक्विटी (एलजीआइएमएफ) कार्यक्रमअन्तरगत ‘सबैका लागि मानसिक स्वास्थ्यमा नवप्रवर्तन र सहकार्य’ विषयमा सिएमसी, हेल्थ फाउण्डेसन, मेन्टल हेल्थ संस्था र हेल्थ कोप्र्स नेपालको सहकार्यमा यही वैशाख २२–२३ गतेसम्म सञ्चालित अन्तर्राष्ट्रिय सम्मेलनले ‘जुम्ला घोषणापत्र’ जारी गरेको हो ।


सम्मेलनले विशेषगरी मुलुकमा विशाल समस्याका रुपमा देखिएको सामुदायिक मानसिक स्वास्थ्यको अन्तराल र समस्याको पहिचान गरी त्यसको सम्बोधन तथा मानसिक रोग विशेषज्ञ र सेवाको उपलब्धता लागि नवप्रवर्तन र सहकार्य आवश्यक भएको निष्कर्ष निकाल्दै नौ बुँदे जुम्ला घोषणापत्र जारी गरेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका उपकुलपति डा.मंगल रावलले राससलाई जानकारी दिनुभयो ।
उपकुलपति रावलका अनुसार घोषणापत्रमा तीनबुँदे ग्लोबल सिफारिस गरिएको छ । जसमा समानता र न्यायको सिद्धान्तका आधारमा मानसिक स्वास्थ्य अवस्था सुधारका लागि स्रोत जुटाउन अन्तर्राष्ट्रिय सरकारी तथा गैर सरकारी र दाता निकायबाट स्वास्थ्यका क्षेत्रमा बजेट विनियोजन तथा कोष वृद्धि गर्ने, मानसिक स्वास्थ्यका लागि दीगो क्षमता विकास गर्न उच्च आय भएका देश, अनुसन्धान तथा प्राज्ञिक संस्थाहरुसँगको सहकार्य बढाउने र अधिकारमा आधारित सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रमलाई सशक्त बनाएर लैजाने विषय सिफारिस गरिएको हो ।


त्यस्तै, सो घोषणापत्रमा छ बुँदे निष्कर्षसहितको प्रतिवद्धता गरिएको छ । जस अनुसार नेपालका धेरै स्वास्थ्य केन्द्र तथा प्राज्ञिक संस्थाहरुले मानसिक रोग विशेषज्ञ तथा मनोवैज्ञानिकहरु पाउन ठूलो संघर्ष गरिरहेका छन् । यसका लागि नेपालमा सरकारी तथा गैर सरकारी निकायहरुले मानसिक स्वास्थ्य क्षेत्रमा गरेको प्रगति र सम्बोधन तथा मानसिक स्वास्थ्य समस्याको पहिचान गरी थप कार्यगत योजना अगाडि बढाउनुपर्दछ ।

घोषणापत्रमा सिंगो नेपालको मानसिक स्वास्थ्य अवस्थामा सुधार ल्याउन साझेदार निकायहरुले समुुदायस्तरमै गएर काम गर्नुपर्ने र योगदान तथा सेवालाई बढोत्तरी गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साइकियाट्री विभाग तथा प्रादेशिक अस्पतालको सशक्तिकरण गर्न र मानसिक स्वास्थ्य सेवा प्राप्तिका लागि तत्तत् निकायहरुले अवसरहरुको अन्वेषण गर्नुपर्ने औंल्याइएको छ ।
त्यसैगरी, साझेदार निकायहरुले स्थानीयस्तरमा प्राप्त सामुदायिक स्रोत तथा सहयोगका लागि विद्यमान अवस्थामा काम गर्दै आएको जनशक्तिलाई मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्रशिक्षण दिएर उनीहरुको प्रवद्र्धन गर्ने र सामुदायिक मानसिक स्वास्थ्यको मुद्दालाई अगाडि बढाउन आयोजक संस्थाहरुले पुनः आगामी वर्षहरुमा पनि यही मुद्दामा अन्तर्राष्ट्रियस्तरको सम्मेलनको आयोजना गर्ने निष्कर्ष निकालिएको छ ।
उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ९० भन्दा बढी मानसिक रोग विशेषज्ञ, मनोवैज्ञानिक तथा मनोपरामर्शदाता र अन्य सरोकारवालाहरु सहित करिब १५० जनाको सहभागिता रहेको थियो । कोरपाटी बाट साभार

प्रतिक्रिया दिनुहोस