माओवादीको नीति र नेतृत्व दुबै फेरौँ
साउन २९,२०८१
चुनावी परिणामले तेस्रो दलका रुपमा निर्धारण गरिदिएको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठक ‘हेडक्वार्टर’ पेरिसडाँडामा जारी छ । यस पटकको बैठकमा माओवादीका उपमहासचिवद्वय हरिवोल गजुरेल र जनार्दन शर्माले राखेका मत चर्चाको शिखरमा छन् । पहिला हरिवोल गजुरेलल माओवादी पार्टी नेतृत्वतहबाटै बिग्रेकाले सबै पदाधिकारीहरुले राजीनामा दिनुपर्ने तर्क राखे । उनले आफूलाई अध्यक्ष प्रचण्डले राजीनामाका लागि अनुमति दिन्छन् भने आफू सबैभन्दा पहिले राजीनामा दिन तयार रहेको बताए । गजुरेलको यो भनाई सुनेर कतिपयले त हरिवोलले माओवादी पार्टी छोड्दै छन्, उनी एमालेमा जाँदैछन् भन्नसमेत भ्याए । त्यसोत हरिवोल गजुरेलले निवर्तमान प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजनीतिक सल्लाहकारबाट पनि राजीनमा दिएका थिए । यी दृष्टान्तहरु हेर्दा हरिवोलमा पदलोलुपता छैन, उनी त्यागी नेता हुन् भन्ने सन्देश बाहिर आएको छ ।
त्यसैगरी अर्का उपमहासचिव एवम् पटक पटक मन्त्री भएका जनार्दन शर्माले पार्टी अध्यक्ष प्रचण्डमाथि नैं औंला उठाए । उनले पार्टीप्रति जानाधार कमजोर बन्दै जानुमा अध्यक्ष प्रचण्डको अक्षमता रहेको भन्दै उनलाई राजीनामा दिन तीन बिकल्पहरु दिए । प्रचण्डले चाहेको व्यक्तिलाई पार्टी अध्यक्ष बनाउने, केन्द्रीय कमिटी भंग गरेर प्रचण्डको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी बनाउने वा प्रचण्डले सरकारको मात्र नेतृत्व गर्ने सांगठनिक नेतृत्व अर्के दिने । जनर्दन शर्माले पार्टी सुधारका लागि दिएका यी तीन बुँदामा सबै नेताहरुले कि त खुलेर बहश गर्नुपर्छ कि त कुनै नेतासँग यी भन्दा अन्य कुनै तार्किक बिकल्पहरु छन् भने बैठकमा पेश गर्नुपर्छ । “एउटै व्यक्ति तीन दशकभन्दा बढि पार्टी अध्यक्ष बन्दा, उसैलाई इश्वरीकरण गर्दा, नेतृत्वको गलत कार्यशैलीका बारेमा खुलेर बहस, छलफल नगर्दा र नेतृत्वले गरेको गल्तीलाई केही अन्धभक्तहरुले ढाकछोप गर्दा माओवादी केन्द्र आजको रक्षात्मक अवस्थामा पुगेको सबैले स्वीकार्न हिच्किचाउनु हुँदैन ।”
लेकतन्त्रका ठूला गफ दिने जो कोहीले आफ्नो दलभित्र भएका नातावाद, कृपावाद, परिवारवाद आदिको अन्त्य गर्न सक्नुपर्छ । पार्टीभित्र मुन्टो उठाउने गुटवाद, तानाशाह, अधिनायकत्वको जरैदेखि निमोठ्न जरुरी छ । यहाँभित्र मौलाएको ठेकेदारी, तस्करी, ठगी, आदि निमिट्यान्नै पार्न पनि अव हिम्मतिलो नयाँ नेतृत्व आउन जरुरी छ । माओवादीभित्रका अनेक गुटहरु अन्त्य गर्नका लागि माऊ पार्टीमा मात्र नभई हरेक भातृ संस्थामासमेत मतदानको प्रकृयाबाट अध्यक्ष, पदाधिकारी र सम्पूर्ण कार्यसमिति चयन गर्न जरुरी छ । टिके प्रथा अन्त्य नहुँदासम्म सक्षम व्यक्ति नेतृत्व तहमा आउँदै सक्दैन । मनोनयन र सहमतिका नाममा माओवादीको भातृ संस्था प्रेस सेन्टर अहिले चरम गुटबन्दीबाट गुज्रिरहेको छ । विद्यार्थी, मजदुर, वाईसीएल, जनसाँस्कृतिक महासंघमा पनि उस्तै गुट छन् । यी सबै हुनुनको मुख्य कारण टिकेप्रथा नै हो । अध्यक्ष प्रचण्डको कमजोरी र लापरबाहीपना हो ।
तसर्थ माओवादी पार्टीलाई पारदर्शी, सक्षम, योग्य, परिणाममुखि बनाउँदै भुइँमान्छेको सेवक बनाउने हो भने जनार्दन र हरिवोलले उठान गरेका विषयहरुलाई गम्भीरतापूर्वक लिन जरुरी छ । यी दुई नेताहरुले फरक मत राखे भन्दैमा उनीहरुलाई नेतृत्वले पेल्ने, हेप्ने र बहिस्करणमा पार्ने दुस्साहस यदि माओवादी पार्टीले ग¥यो भने यो प्रचण्डहरुका लागि निकै महंगो साबित हुन सक्छ । माओवादी पार्टी भित्र नीतिका बारेमा धेरै पटक बहस र छलफलहरु भए । यसपटक भने गम्भीर रुपले नयाँ नेतृत्व (अध्यक्ष) फेर्ने बारेमा छलफल प्रारम्भ भएको छ, यो निकै स्वागतयोग्य विषय हो । यदि माओवादीले नयाँ र सक्षम नेतृत्व चयन ग¥यो भने प्रचण्ड र उनको गुटबाट अपहेलित भएर अन्य पार्टीमा लागेका नेताहरु पनि पुनः माओवादी केन्द्रमै फर्किन सक्ने सम्भावनातर्फ पनि ठण्डा दिमाले सोच्न जरुरी छ ।