नेपाल पत्रकार महासंघका सबै तहको निर्वाचन असोज ५ गते
भदौ १६ २०८१
काठमाडौं । पटकपटक स्थगित हुँदै आएको नेपाल पत्रकारको महासंघको निर्वाचन असोज ५ गते हुने भएको छ । महासंघको सबै तहको निर्वाचन असोज ५ गते एकै साथ हुने पत्रकार महासंघले जनाएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले आइतबार विज्ञप्ति जारी गरी पत्रकार महासंघको महाधिवेशन सम्पन्न भई निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्ने विषयमा केही विलम्ब हुन गएको उल्लेख गर्नुभएको छ ।
नयाँ नेतृत्व चयन प्रक्रिया नियमित हुन नसक्दा आम पत्रकार र महासंघसँग प्रत्यक्ष वा अप्रत्यक्ष सरोकार राख्ने पक्षहरूमा छाएको निराशा र चिन्ता स्वाभाविक रहेको विज्ञप्तिमा भनिएको छ ।
महासंघमा लामो समयदेखि बहसमा रहेको सदस्यता शुद्धीकरणमा यो पटक महत्त्वपूर्ण उपलब्धि हासिल भएको पनि विज्ञप्तिमा उल्लेख छ ।
यसपटक महासंघले शुद्धिकरण गरेर सदस्य संख्या घटाएको छ । यो पटकको प्रयासवाट भएको सदस्यता शुद्धीकरणले पेशागत शुद्धता र महासंघको शुद्धीकरणका लागि महत्वपूर्ण हुने महासंघको विश्वास छ ।
समग्र नेपाली पत्रकारिता जगत संकटको घेरामा परेको बेला महासंघको नेतृत्व समयमै चयन भई आइपर्ने सबैखालका चुनौती सामना गरेर समग्र नेपाली सञ्चार क्षेत्रकै नेतृत्व लिनुपर्ने आवाज आफैंमा महत्वपूण भएको उल्ले्ख गर्दै विज्ञप्तिमा भनिएको छ ।