मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत लिन प्रस्ताव पेस, भोलि विश्वासको मत लिने

फिल्को मिसन

२०७८ मंसिर १४बुधबार
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । आजको प्रदेशसभा बैठकमा शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको हो । तर प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरू अनुपस्थित भएका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि बढ्न सकेन । प्रस्तावको सम्बन्धमा मत विभाजन भने भोलि बस्ने बैठकमा गराइने भएको छ । प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्री शाहीले विश्वासको मत लिने प्रयोजनका लागि १४ मंसिरमा प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयले १४ मंसिर दिउँसो १ बजे बैठक बोलाइएकाले उपस्थितिका लागि सबै सदस्यलाई सूचित गरिएको कर्णाली प्रदेशसभा सचिवालयका निमित्त सचिव तेजप्रकाश जोशीले जानकारी दिए ।

एमालेको १० औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि एमाले सांसदहरु उपश्थीत नभएको बताइएको छ । नेकपा एमालेले भोलिको बैठकमा सहभागी हुने जनाएको सत्तारुढ गठबन्धनका नेताहरूले बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस