पार्टी बनाउनको लागि जनतासंग जाने माओवादी केन्द्रको निर्णय

फिल्को मिसन

साउन २१, २०८०
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सुरु गर्ने भएको छ ।माओवादी केन्द्रले पार्टी निर्माणका लागि तीन महिने अभियान चलाउने निर्णय गरेको छ ।
पाँच दिन देखि चलेको केन्द्रीय कमिटीको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भदौ १६ गतेदेखि तीन महिना पार्टी सुदृढीकरणका लागि अभियान चलाउने प्रस्ताव गरेका छन् । भदौ १५ गतेसम्म तयारी गरेर १६ गतेदेखि पार्टी बनाउन प्रत्येक वडामा जाने अध्यक्षको प्रस्तावलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो।
अध्यक्ष दाहालले पार्टी निर्माणका लागि प्रत्येक घरघरमा पुग्न केन्द्रीय सदस्य तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। बैठक समापन गर्दै दाहालले भने, ‘हाम्रो पार्टी नै नभएको ठाउँ पनि प्रत्येक घरमा जानुहोस्। गएकै हुनुपर्छ। त्यसको रेकर्ड पार्टीले राख्छ। तीन महिनामा कुनै पनि घर नछुटाउनुहोला बताए ।
जारी केन्द्रीय समिति बैठकमा माओवादी अध्यक्ष प्रचण्डले आगामी भदौ १५ गतेसम्म सम्पूर्ण तयारी सक्ने र सबै वडामा १६ गते एकै दिन उद्घाटन गरिने बताए ।
साथै माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरूको जिम्मेवारी हेरफेर गरेको छ। आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो।
जसअनुसार अध्यक्ष प्रचण्डलाई समग्र पार्टीको जिम्मेवारी दिइएको छ भने उपाध्यक्ष कृष्णबहादुर महरालाई पार्टी एकता र समाजवादी मोर्चाको जिम्मेवारी दिइएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
यस्तै अर्का उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई प्रचार विभागको जिम्मेवारी दिएको छ भने पम्फा भुसाललाई जनवर्गीय संगठन हेर्ने जिम्मा दिएको छ।
गैरप्रदेश र विशेष प्रदेश इन्चार्जको जिम्मेवारी उपमहासचिव वर्षमान पुनले पाएका छन्। सचिव देवेन्द्र पौडेललाई मधेश प्रदेशको जिम्मेवारी दिएको छ। बागमती प्रदेशको इन्चार्जको जिम्मा उपमहासचिव जनार्दन शर्मालाई दिइएको छ। सुदूरपश्चिमममा डिलाराम आचार्य, लुम्बिनीमा मातृका यादव, कोशीमा लिलामणि पोखरेल र कर्णालीमा चन्द्रप्रकाश खनाललाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ।

प्रतिक्रिया दिनुहोस