स्वास्थ्यचौकीमै छैन खानेपानी, बिरामीलाई समस्या

फिल्को मिसन

वैशाख २७,२०८१
सिमकोट । हुम्लाको एक स्वास्थ्यचौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको छ । जिल्लाको सिमकोट गाउँपालिका–७ स्थित डाँडाफया स्वास्थ्यचौकीमा खानेपानीको चरम अभाव हुँदा बिरामीलाई समस्या हुने गरेको हो । स्वास्थ्यचौकीमै खानेपानी अभाव हुँदा सेवा लिन आउने गर्भवती महिला तथा अन्य बिरामी र कर्मचारीले सास्ती खेप्नुपरेको छ । खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेको स्वास्थ्यचौकीले जनाएको छ । स्वास्थ्यचौकी बनेको लामो समय भइसके पनि खानेपानीको समस्या भने समाधान नभएको सेवाग्राही कल्पना सिंहले बताइन् ।
‘सुत्केरी गराउन स्वास्थ्य चौकी आएकी छु, तिर्खा लाग्दा खानेपानी छैन । स्वास्थ्यचौकीमा काम गर्ने कर्मचारीले पनि पानी पिउन पाउँदैनन्,’ उनले भनिन्, ‘सुत्केरी आमाले नुहाउन, लुगा धुन, फोहोर सफा गर्नका लागि एक घण्टा पुग्नु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।
खानेपानी नहुँदा शौचालय पनि प्रयोगविहीन अवस्थामा रहेको स्वास्थ्य चौकीका इन्चार्ज सन्तोष बोहराले बताए । स्वास्थ्यचौकीमा आउने बिरामीलाई समेत खानेपानी र सरसफाइ गर्न पानीको समस्या रहेको इन्चार्ज बोहराले जानकारी दिए ।
शुद्ध खानेपानी नहुँदा खोलाको दूषित पानी पिउनुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी इन्चार्ज बोहराले बताए । ‘बोकेरै ल्याएको पानी भए पनि सकेसम्म स्वास्थ्यचौकीमा आउने सेवाग्राहीलाई दिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘डाढाबाट पानी बोकेर ल्याउँछौँ ।’
स्वास्थ्यचौकीमा देखिएको समस्या समाधानका लागि प्रयास गरे पनि खानेपानी मुहान नजिकै भएपनि स्वास्थ्य चौकीमा ल्याउने प्रसायर गरेको छैन् । खानेपानीको आपूर्ति नहुँदासम्म बर्थिङ सेन्टर सञ्चालनमा आउन समस्या हुने इन्चार्ज बोहराले बताए ।

प्रतिक्रिया दिनुहोस